स्वास्थ्य

सात वर्ष साउदी बसेकी सुनिताको कमाइ : मानसिक रोग !

 काठमाडौँ ।  : वैदेशिक रोजगारमा गएर सुन्दर भविष्य निर्माण गर्ने योजनाका साथ दैनिक सयौँ युवा विदेशिने गरेका छन् । तर, सबैको सपना पूरा हुन्छ भन्ने छैन । कोही राम्रै दाम लिएर आउँछन्, त कोही रोगिएर थिलथिलो शरीर लिएर भने कोही बाकसमा । यस्तै, सुन्दर भविष्यको खोजीमा सात वर्षअघि साउदी अबर पुगेकी बिर्तामोड नगरपालिका–८ गरामनीकी सुनिता गामी (४०) मानसिक रोगी भएर फर्किएकी छन् । सात वर्षअघि घरेलु कामदारका रुपमा भारतीय बाटो हुँदै साउदी पुगेकी सुनिता गत वैशाखमा नेपाल फर्किएकी हुन् ।

घरमालिकको शारीरिक र मानसिक यातनाले हाल उनी विक्षिप्त अवस्थामा रहेकी छन् । स्थानीय मंगलु राजवंशीले सम्पर्क गराएपछि झापा धाइजनका अभिषेक धिमालले सुनितालाई भारतको बाटो हुँदै साउदी पठाएको श्रीमान् नारायण गामीले जानकारी दिनुभयो । “साउदी पुगेको एक महिनापछि सुनिताले फोन गरेकी थिई”, नारायणले भन्नुभयो, “त्यसयता सम्पर्क हुन सकेन ।” सुनितालाई साउदी पठाउने धिमाल हाल सम्पर्कविहीन छन् ।

सात वर्षपछि सदस्य घर फर्किंदा खुसी भए पनि सुनिताको अवस्थाले परिवार चिन्तामा छ । “छोरा पढाउने र घर बनाउने सपना थियो”, नारायणले भन्नुभयो, “पैसा कमाउनु त टाढाको कुरा श्रीमतीको यस्तो हालत भयो ।” हाल सुनिताको उपचार भइरहेको उहाँले बताउनुभयो ।मासिक रु १४ हजार पारिश्रमिक पाउने शर्तमा साउदी पुगेकी सुनिताले गएको चार महिनापछि रु ५० हजार पठाएकी थिइन् । सो रकम उनले आफ्नो देवर प्रमोदको नाममा पठाएकी थिइन् । त्यसपछि कुनै रकम नपठाएको परिवारले जनाएको छ ।

तर, उद्धार गरी नेपाल फर्किएपछि सुनिताको तलबबापतको रु १० लाख पाएको श्रीमान् नारायणले बताउनुभयो । उहाँले भन्नुभयो, “सोही रकमले श्रीमतीको उपचार गरिरहेकी छु ।” उनले दोषीलाई कारबाहीको माग गर्दै न्यायका लागि अपिलसमेत गरेका छन् ।

प्रतिकृया दिनुहोस