सम्पादकीय

लोकतन्त्र समाप्त पार्ने हौवा

प्रदेश र संघको चुनावी प्रक्रिया विधिवत रुपमा प्रारम्भ भएको छ । चुनाव हुन्छ र ? होला र ? गराउलान र ? खान बानी परेकाहरुले के गराउलान र फेरी एउटा तर्क निकालेर संसदको आयु लम्बयाउछन र खान्छन । नेपाली राजनीतिक बजारमा निस्केका यस्तै प्रतिक्रियाविचमा स्थानिय तहको निर्वाचन भयो । प्रदेश र संघको चुनावमा देश औपचारिक रुपमै प्रवेश गरेको छ । अव चुनाव हुने नै भयो । निश्चित भयो । चुनाव गराउन कसले कहांवाट दवाव दिएको छ या चुनाव नगराउदा बदलिन सक्ने राजनीतिक कोर्षका कारण दलका नेताहरु चिन्तित भएरै चुनाव गराउन लागिपरेका हुन् , नेपाली जनता आफै आफै अडकलबाजी गरिरहेका छन् । जनता ठान्छ, दल परिबन्धमा छन , चुनाव नगराई नहुने परिबन्धमा । नत्र लम्बयाएर खान बानी परेका यिनीहरुले के चुनाव गराउंथे ,जनताको यस्ता प्रतिक्रिया यद्यपी आइनै रहेका छन् । रहरले होस या बाध्यताले होस ,लोकतन्त्रमा चुनाव हुने कुरा स्वागतयोग्य कुरा हो । लोकतन्त्रमा चुनावै सवैथोक हुनुपर्ने हो तर होला कि नहोला । स्थानिय तह चुनाव नभएको वर्षौ हुदा स्थानिय चुनाव भए केहि हुन्छ भन्ने थियो । नहुनु भन्दा हुन जनप्रतिनिधी हुनु राम्रो तर जति हुनुपर्ने हो त्यो हुन सकेको छैन । काठमाडौं महानगरपालिकामा चुनाव भएर , मेयर ल्याएर भयो के ? आज जनताले प्रश्न गर्न थालेका छन् । काठमाडौंको मेयर अर्कमण्य भएकै आधारमा के मुलुकभरका जनप्रतिनिधी त्यसतै होलान त ? के एकाध घटनालाई समग्रतामा मूल्यांकन गर्न मिल्ला त ? निसन्देह मिल्दैन तर राजधानीवाट प्रवाह हुने सूचना र सन्देशले समग्र देशभरलाई प्रभावित गर्छ , जनप्रतिनिधीप्रतिको दृष्टिकोण निर्माणमा सहयोग गर्छ । यो मामिलामा कमिकमजोरी भएकै छन् । काम गर्न जानेका छैनन, चाहेका छैनन या पाएका छैनन, यसको मूल्य उनले , उनको दलले सम्भवत यहि प्रदेश र संघको निर्वाचनमा नभए फेरी अर्को चुनावमा निसन्देह चुकाउनेछ । प्रदेश
संघको चुनामा प्रवेश गर्दैगर्दा टिकटको रस्साकस्सी चलिरहेको छ । टिकट नपाए दल बदल गर्नेदेखि अन्र्तघातको श्रृखंला प्रारम्भ भएको छ । गठबन्धको राजनीति चलिरहेको छ । ग्राउण्डमा जनता के चाहान्छन्,हिजो देखि भोट हालिरहेका लाखौ शुभचिन्तक, समर्थक, तल हिजोदेखि खटिरहेका कार्यकर्ता नेता के भन्छन्, त्यसको कुनै मान्यता छैन, सरोकार छैन, केन्द्रमा स्वार्थ मिल्यो ,घोषणा गरिदिए भयो एकता । त्यो एकतालाई भावनात्मक एकतामा रुपमान्तरण गर्ने कुनै मार्गचित्र छैन,दलिय पद्वतिका नामामा केन्द्रवाद लादेपछि त्यो मान्नैपर्ने सर्वसत्तावाद दलहरुले अभ्यास गरिरहेका छन् । वर्षोदेखि सूर्यमा भोट हालेकाले हैसा हथौडामा हात लादा काम्दै लान्छ । अहिले मिलेर चुनाव लडेको नकामिकन हाल्नुस मत भनेर जागरण छैन । हसिया हथौडामा हालिरहेकाले सूर्यमा भोट हाल्दा पनि हालत त्यसै हुन्छ । जनतालाई प्रयोेग मात्र गर्ने । जनता प्रयोग मात्र भइरहने । निसन्देह एकताको कुरा खुशीको कुरा छ । एकताको कुरामा समृद्विको मार्गचित्र लुकेको छ भने, होइन तत्कालिन लाभहानी मात्र लुकेको छ भने इतिहासमा जनताप्रतिको, कार्यकर्ता, समर्थक,शुभेच्छुक प्रतिको यो भन्दा भयानक बेइमानी अरु के होला ? कांग्रेस भन्छ लोकतन्त्र समाप्त पार्नेहरु एक भए । लाग्छ लोकतन्त्र कांग्रेसलाई मात्र थाहा छ ।

लोकतन्त्र  कुनै दलको नीज सम्पति रहेन । लोकतन्त्र जनताको सम्पति हो । लोकतन्त्र स्वतन्त्रतासंग जोडिएको विषय हो । जनताको स्वतन्त्रता खोस्ने हिम्मत कुनै शक्तिसंग छैन । स्वतन्त्रतारहितको कुनै पनि बाद आजको युगको नेपाली जनतालाई स्विकार्य हुनै सक्दैन । जनताले २००७ साल देखि आज ०७४ सालसम्म आउदा अरु केहि नपाएपनि स्वतन्त्रताको मस्त उपयोग गर्न पाएको छ । जनताले अरु भोक, रोग र शोकमा सम्झौता गर्न बानी परेको छ तर स्वतन्त्रता र राष्ट्रियताको सवालमा सम्झौता गर्न भने छाडिदिएको छ । बरु भोकै वस्न परोस, स्वतन्त्रता नेपाली जनताको ढुकढुकीमा छ,रगतमा छ । बोल्न पाउने, विरोध गर्न पाउने, लेख्न पाउने । यो स्वतन्त्रतालाई कसैले खोस्न खोज्छ भने त्यसको प्रतिरोध नेपाली जनताले गर्छ । त्यसैले न कांग्रेसले लोकतन्त्र मासिन्छ कि भन्ने चिन्ता गर्नुपर्छ न कुनै दाहिने या देब्रे शक्तिले अधिनायकवाद ल्याउंछु भनेर कल्पना नै गर्न सक्छ । कल्पना गर्न पाइएला तर त्यो यथार्थमा परिणत हुने कुरा नसोचे हुन्छ । अधिनायकवादको हौवा देखाएर आफुलाई लोकतन्त्रको पर्याय प्रमाणित गर्ने कच्चा राजनीतिक खेल कांग्रेसले पनि नखेले हुन्छ । एमाले माओवादीले पनि अधिनायकवादको सपना नदेखे हुन्छ । दुवैथरिका आरोप अनि प्रत्यारोपलाई नेपाली जनताले आवश्यक परेको खण्डमा खारेज गरिदिनेछ । लोकतन्त्र बचाउने पनि जनता हो । अधिनायकवाद परारस्त गर्ने पनि जनता हो । जनतानै सत्य हो । जागरुक जनता । स्वतन्त्रताको चेतनाले लैस भएको नेपली जनता अन्तिम शक्ति हो । कोर्ष करेक्सन चाहेको बेला उसैले गर्छ ।

प्रतिकृया दिनुहोस