स्वास्थ्य

डा. केसीको छाती दुखाइ बढ्यो, मुटुको चाल बिग्रन सक्ने त्रास

डा. गोविन्द केसीको छाती दुखाइसँगै स्वास्थ्य अवस्था खस्कन थालेपछि मंगलबार अनशनस्थलमा मनिटरलगायत थप चिकित्सकीय उपकरण लगाइएको छ । अघिल्ला अनशनको दाँजोमा यस पटक केसीको स्वास्थ्य अवस्था तीव्र गतिले खस्कँदै गएको चिकित्सकहरूले बताएका छन् ।

‘परिस्थितिको संवेदनशीलताअनुसार मंगलबारदेखि मनिटरका माध्यमले उनको स्वास्थ्यस्थिति प्रत्यक्ष रूपमा अवलोकन गर्न थालिएको छ,’ डा. केसीको स्वास्थ्य निगरानीमा सरिक प्रा.डा. दिव्यासिंह शाहले कान्तिपुरसँग भनिन्, ‘मनिटरले प्रत्यक्ष रूपमा डा. केसीको मुटुको चाल र गतिविधि, रगतमा अक्सिजनको मात्रा, श्वासप्रश्वास गतिलगायत जानकारी दिइरहेको छ ।’

विगतका अनशनहरूको दाँजोमा यस पटक स्वास्थ्यस्थिति छिटोछिटो गिर्दो क्रममा देखिएको उनले जानकारी दिइन् । शाहका अनुसार कम समयमै धेरै पटक अनशन बसेका कारण स्वास्थ्यस्थिति छिटो खस्कन थालेको हुन सक्छ ।

 डा. केसीले मंगलबार छाती दुखेको बताएपछि उनको स्वास्थ्य निगरानीमा रहेका चिकित्सकहरूमा चिन्ता छाएको छ । ‘छाती दुखाइको लक्षणले मुटुको चाल बिग्रन सक्ने आंशका बढेको छ,’ डा. शाहले भनिन्, ‘हामीलाई यही समस्याले सबभन्दा बढी चिन्तित तुल्याएको छ ।’ यो खबर आजकोकान्तिपुरमा छ ।

प्रतिकृया दिनुहोस