अन्तराष्ट्रिय

चीन र भारतीय मन्त्रीहरू काठमाडौं आउँदै

काठमाडौं, २५ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा ७ भदौमा भारतको राजकीय भ्रमणमा जाने तय भएको छ । तर, त्यसपूर्व भारत र चीनबाट नेपालको उच्चस्तरीय भ्रमण हुँदै छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

चीनबाट उपप्रधानमन्त्री वाङ याङ आगामी ३० साउनमा आउँदै छन् । त्यसको चार दिनअघि नै बिहीबार (२६ साउनमा) भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आउँदै छिन् । याङ औपचारिक भ्रमणमा र स्वराज बिमस्टेकको बैठकमा सहभागी हुन आउने तय भएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

‘प्रधानमन्त्रीको भारत भ्रमणका एजेन्डा तयार हुँदै छन्, उहाँले यसअघि प्रधानमन्त्रीका रूपमा तीनपटक भ्रमण गर्दा भएका सम्झौता कार्यान्वयनमा जोड दिने गरी समीक्षा गरिरहेका छौँ,’ प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. दिनेश भट्टराईले नयाँ पत्रिकासँग भने । देउवाले प्रधानमन्त्रीका रूपमा पहिलोपटक २८ माघदेखि ५ फागुन ०५२ मा, दोस्रोपटक ७–११ चैत ०५८ मा र तेस्रोपटक २३–२७ भदौ ०६१ मा भारतको औपचारिक भ्रमणमा गरेका थिए ।

चिनियाँ उपप्रधानमन्त्रीको पूर्वनिर्धारित भ्रमण
चिनियाँ उपप्रधानमन्त्रीको भ्रमण पूर्वनिर्धारित हो । ‘पुनर्निर्माणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने गरी तयारी भइरहेको छ,’ भट्टराईले भने । दरबार स्कुल, वसन्तपुर दरबार र नुवाकोट दरबार पुनर्निर्माणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी भएको छ । चिनियाँ दूतावास र अर्थ मन्त्रालयबीच हस्ताक्षर हुनेछ ।

भारत–चीन तनावमा जवाफ दिने तयारी
भारत र चीनबीच बढ्दो तनावको असर पर्न नदिने नेपालको तयारी छ । तर, चीन र भारतले प्रसंग उठाए नेपालले आफ्नो धारणा दिनेछ । एक परराष्ट्र अधिकारीले भने, ‘नेपाल शान्तिपूर्ण रूपमा भारत र चीनबीच संवादका आधारमा समस्या समाधान होस् भन्ने चाहन्छ, यही कुरा भारत र चीन दुवैलाई भन्नेछौँ ।’ चिनियाँ उपप्रधानमन्त्रीले दोकलाम विषय र वान वेल्ट वान रोड सम्झौता कार्यान्वयनका विषयमा कुरा उठाउन सक्ने अनुमान नेपालको छ ।

प्रतिकृया दिनुहोस