प्रवास

यस्तो छ कोरियामा आत्महत्या गर्ने नेपाली युवाको 'सुसाइड नोट'

सोल । ‘कम्पनीले पनि ल्याङ ल्याङ गर्छ। पेपर दे घर जान्छु भन्दा पनि दिँदैन। मेरो अकाउन्टमा ३२ लाख वन छ। त्यो बुढी र बहिनीलाई दिनु होला’, पर्वतका केशव श्रेष्ठले आत्महत्या गर्नु अघि आफ्नो डायरीमा यस्तो सुसाइड नोट लेखेका छन्।

अरु नेपाली युवाहरुले कोरियामा आत्महत्या गरेको घटना सुन्दा आश्चर्य मान्दै आएका करिब २८ वर्षीय श्रेष्ठले सोमबार आफै आत्महत्या गरेका छन्।

आत्महत्या गर्नुअघि श्रेष्ठले श्रीमती र बहिनीलाई सम्झिएका छन्। श्रेष्ठको सुसाइड नोटमा ३२ लाख वन अर्थात् करिब तीन लाख रुपैयाँ आफ्नो बैंक खातामा रहेको र सो पैसा श्रीमती र बहिनीलाई दिन अनुरोध गरिएको छ।

पर्वतको थापाथाना घर भएका श्रेष्ठको स्वास्थ्य खराब रहेको, औषधी उपचार गर्दा पनि निको नभएको, विदा लिएर घरमा आउन चाहेको, कम्पनीले घरमा आउन बिदा नदिएको, निन्द्रा नलाग्ने समस्या रहेको, निन्द्रा लाग्ने औषधि सेवन गर्दै आएको जस्ता तथ्यहरु उनका सहकर्मीका भनाइ र सुसाइड नोटबाट खुल्न आएको छ।

करिब १५ महिना अघि वैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरिया पुगेका श्रेष्ठले सोमबार आत्महत्या गरेका हुन्। कोरियाको छुन्जुस्थित आफ्नै कम्पनीको छतमा जाने भरयाङमा झुण्डिएर श्रेष्ठले आत्महत्या गरेका हुन।

छतमा जाने भरयाङमा पासो लगाएर श्रेष्ठले आत्महत्या गरेको श्रेष्ठका रुम पार्टनर अमृत गिरीले जानकारी गराएका छन्। आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ।

प्रतिकृया दिनुहोस