कला/मनोरञ्जन

सन्ध्याले जितिन् आई क्यान डान्सको उपाधि

काठमाडौं । आस्था आर्टस् एकेडेमीले आयोजना गरेको नृत्य सम्बन्धी रियालिटी शो आई क्यान डान्सको उपाधि सन्ध्या श्रेष्ठले जितेकी छन् । उनले ट्रफीका साथमा स्कुटी र एक लाख रुपैयाँ नगद पाइन् ।

राजधानीको प्रज्ञाभवनमा भएको फाइनलमा उनले दोस्रो भएकी मिङ्मा डोल्मा शेर्पाको भन्दा एकदमै झिनो अन्तरले बढी अंक प्राप्त गरिन् । प्रतियोगितामा दोस्रो भएकी शेर्पाले नगद ५१ हजार रुपैयाँ र ल्यापटप प्राप्त गरिन् । प्रतियोगितामा प्रिष्का रजौरे तेस्रो भइन् । उनले २५ हजार रुपैयाँ नगद र ट्याब पाइन् । प्रतियोगिताको फाइनलमा ६ जना प्रतिष्पर्धीहरु थिए । अन्तिम प्रतिष्पर्धामा नमुना श्रेष्ठ चौंथो, रुबिना नकर्मी पाँचौ र राज मगर छैटौं भए ।

विजयी भएकाहरुलाई कार्यक्रमका प्रमुख अतिथि युवा चलचित्र निर्माता महेन्द्र कुमार पौडेल (रमेश), आस्था आर्टस् एकेडेमीकी संरक्षक प्रथम नायिका भुवन चन्द, वरिष्ठ सञ्चारकर्मी माइकल चन्द लगायतले पुरस्कारहरु प्रदान गरेका थिए । अन्तिम प्रतिष्पर्धामा छानिएका प्रतियोगितहरुको मुल्यांकन ५० प्रतिशत उनीहरुले पाएको जनमत र ५० प्रतिशत निर्णायकको अंकको आधारमा गरिएको थियो । अन्तिम प्रतिष्पर्धामा वरिष्ठ कलाकार मिथिला शर्माका साथमा सागर लोप्चन, सुजित श्रेष्ठ, प्रेम श्रेष्ठ लगायत निर्णायकका रुपमा थिए ।

कार्यक्रममा प्रतियोगीहरुले निकै आकर्षक नृत्य प्रस्तुत गरेका थिए । साथमा राजेशपायल राई, मिना निरौलाले पनि सांगितिक प्रस्तुती दिएका थिए । कार्यक्रममा वरिष्ठ कलाकार बसुन्धरा भुसाल, पहिलो रंगिन चलचित्रकी नायिका चैत्यदेवीको पनि उपस्थिती थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले प्रथम भएकी सन्ध्यालाई आप्mनो चलचित्रमा काम गर्ने मौका दिने उद्घोष गरे । त्यस्तै आस्था आर्टस् एकेडेमीका अध्यक्ष रमेश थापाले सबैले मेहनत गरे पनि विजयी एक जना मात्र हुने भएकाले खुशी हुनुपर्ने बताए । उनले नृत्य मनोरन्जन मात्र नभएर शिक्षा पनि भएको बताए । उनले कार्यक्रमको सुरुमै यो नृत्य प्रतियोगिताको बारेमा प्रकाश पारेका थिए ।

प्रतिकृया दिनुहोस