अन्तराष्ट्रिय

युद्ध भूमि बन्यो 'पहाडकी रानी' : चुप छ केन्द्र सरकार

दार्जिलिङ - गोर्खाल्यान्ड आन्दोलनको रापका कारण दार्जिलिङको मौसम एक महिनादेखि तातेको छ। पछिल्लो पटक गोर्खाल्यान्ड आन्दोलन चर्किएको महिना दिनभन्दा बढी भइसक्यो। अनिश्चितकालीन हडताल सुरु भएको शुक्रबार महिना दिन पुग्यो। ‘पहाडकी रानी’ भनिने दार्जिलिङ ‘युद्ध भूमिजस्तो’ देखिएको छ। आजको कान्तिपुर दैनिकमा खबर छ ।

सहरभरि हतियारधारी सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ। हडतालका कारण सिंगो दार्जिलिङको जनजीवन प्रत्यक्ष प्रभावित छ। आन्दोलनकारी अझै हडताल फिर्ता लिने पक्षमा छैनन्। ‘आन्दोलन गन्तव्यमा नपुगेसम्म हडताल जारी राख्ने पक्षमा छन् जनता,’ आन्दोलन अघि बढाउन बनेको सर्वदलीय संयन्त्र गोर्खाल्यान्ड मुभमेन्ट कोओर्डिनेसन कमिटीका संयोजक कल्याण देवानले भने, ‘जनताले फिर्ता नलिएसम्म हडताल जारी रहनेछ।’ पछिल्लो समय आन्दोलन हिंसात्मक पनि बन्यो। प्रहरी दमनमा ७ जना आन्दोलनकारीले ज्यान गुमाइसकेका छन्।

आन्दोलनकारीले सरकारी सवारी, सरकारी भवन तोडफोड र आगजनी जारी राखेका छन्। आन्दोलन चर्किएपछि बंगाल सरकारले दार्जिलिङमा अघोषित नाकाबन्दी गरेको छ। खाद्यान्न, पेट्रोलियम, खाना पकाउने ग्यासलगायत अत्यावश्यक वस्तुमा प्रशासनले प्रत्यक्ष रूपमै बन्देज गरेको छ। आन्दोलनका कारण यहाँको पर्यटन, चियाजस्ता व्यवसाय धराशायी बनेका छन्। यातायात, स्कुल, व्यापार/व्यवसाय सम्पूर्ण ठप्प छन्।

केन्द्र सरकार मौन
गोर्खाल्यान्ड आन्दोलनका कारण दार्जिलिङमा हिंसा बढदै गए पनि केन्द्र सरकारले कुनै चासो नदेखाएको यहाँका प्रबुद्ध वर्गले गुनासो गरेका छन् । राज्य सरकारले आहवान गरेको बैठक भने आन्दोलनकारीले पटक–पटक बहिष्कार गरेका थिए । तीन दिनअघि ममता बेनर्जी आफैंले पनि वार्ताका लागि आहवान गरिन् । तर, आन्दोलनकारी नेताहरूले ‘केन्द्र सरकारसँग मात्रै’ वार्ता गर्ने बताए ।

५ हजार विद्यार्थीले छाडे दार्जिलिङ
दार्जिलिङमा जारी गोर्खाल्यान्ड आन्दोलनको प्रत्यक्ष प्रभाव त्यहाँको शैक्षिक क्षेत्रमा परेको छ । अनिश्चितकालीन बन्द भएयता १० दिनमा करिब ५ हजार विद्यार्थीले दार्जिलिङ छाडिसकेका छन् ।

गोर्खाल्यान्ड आन्दोलनका कारण विद्यार्थीले पटक–पटक सास्ती भोग्दै आएका छन् । खासगरी नेपाल, भुटान र थाइल्यान्डका विद्यार्थीका लागि आन्दोलनले प्रत्यक्ष असर पुगेको छ । गुणस्तरीय शिक्षाका लागि दार्जिलिङ भारतमै लोकप्रिय गन्तव्य मानिन्छ । पछिल्लो समय भने दार्जिलिङमा विद्यार्थीको आकर्षण घटदो क्रममा रहेको बुझिन्छ ।

प्रतिकृया दिनुहोस