विचार/ब्लग

वीर गोर्खालीको निको नहुने घाऊ

 

 

 

 

 

 

 

 

 



बालकुमार क्षेत्री
इतिहास लामो छ,कहानी धेरै छन् । हामीले सुनेका थियौ ( इतिहासले भविष्य पनि निर्माण गर्छ तर यहाँ त भविष्य होइन गोर्खालीको इतिहास नै लिलाम हुन लागेको छ,विदेशी नुनले नेपाली माटो गल्न थालिसकेको छ । झन्डै २०० बर्ष देखि कुन शक्तिले कुदाईरहेको छ हामी युवाहरुलाई ? यो पनि इतिहासको एउटा पाटो हो जो कि गोर्खाली बहादुरीको परिचय आज विश्वभरी दिईरहेको छ ।
प्रथम विश्वयुद्दबाटै गोर्खाली सैनिकले संसारभरि बन्दुक पड्काउदै,खुकुरी टल्काउदै अगाडी बढ्दै बैरीलाई छप्काउदै बारुद र तातो गोली खादै विदेशी भुमिमा ढलेपछी,नेपाली आमाका सपुतहरुको रगतले विदेशी भुमि सिंचित भएपछि गोर्खालीको पहिचान र राष्ट्रियताको सिमाना भारत र चीन मात्रै होइन राजनीतिक हिसाबले विश्वको कुनाकाप्चामा पुगेको छ । भौगोलिक हिसाबले नेपालको क्षत्रफल सिमित भएपनि पहिचानको हिसाबले ट्युनिसिया, मलेसिया,इराक,लिबिया, फ्रान्स, लाओस, कम्बोडिया हुदै रोम, इजरायल देखि बर्मासम्म पुगेको छ्र । त्यस्तै यूरोपियन मुलुक हुदै फोकल्याण्डको टापुसम्म जित हासिल गरिसकेको छ ।
गोर्खा शब्दको बारेमा अलिकति छलफल गरौ नेपाल एकीकरण भन्दा पहिला नेपालमा ससाना राज्य थिए । ति राज्यमा शक्तिशाली मानिसले राज्य गर्ने गर्थे र आफुलाई त्यस क्षेत्र को राजा हुनुमा गर्ब गर्दथे । समय समयमा एक राजाले अर्को राजालाई हराएर अर्थात् जितेर अर्को राज्य लुट्ने गर्दथे । यो क्रम जारी रहन्थ्यो ,यसै क्रममा गोर्खा क्षेत्र हाल नेपालको गोर्खा जिल्लाका राजा पृथ्बी नारायण शाहले आफ्नो राज्यको विस्तृत गर्न लागे । यसरि राज्य एकीकरणको लागी सेनाको आबस्यकता भयो र सेनाको संगठन निर्माण गरि गोर्खाली सेना नामकरण गरे । यसरि लडेर बाइसे, चौबिसे राज्य माथी विजय हासिल गर्दै सिंगो नेपाल एकीकरण भयो जसलाई आज नेपाल नामले विस्वभर चिनिन्छ । गोर्खाका राजाले एकीकरण गर्ने क्रममा सन् १७६७ मा काठमाडौं आक्रमण गरे,काठमाण्डौका राजा जयप्रकाश मल्लले आफ्नो राज्य बचाउन भारतमा कब्जा जमाइरहेको इस्ट इंडिया कम्पनी संग सैन्य सहयोग मागेपछि पहिलो पटक गोर्खाली सेना र ब्रिटिश सेना बिच सिन्धुली गढिमा १७६७ सेप्टेम्बरमा लडाई भयो त्यस युद्धमा ब्रिटिस सेनाका क्याप्टेन किल्लकको नेतृत्वमा आएको २४०० सेना मध्ये १००० मारिएको इतिहास ब्रिटिश सरकार र नेपाल सरकारसंग सुरक्षित रहेको छ्रपटकपटकको ब्रिटिश सेना र गोर्खा सेनाको लडाइमा ब्रिटिश सेनाले हार खाएपछि गोर्खाली सेनालाई बहादुरको उपनाम दिन थाल्यो र नाम को पछाडी बहादुर लगाउदै सन् १८१५ देखि गोर्खाली सेनाको नाममा नेपाल देखि गोर्खाली सेना भर्ति सुरु गर्यो र आजसम्म यो क्रम जारी छ । यहिकारण आज हामी भारतमा ७ रेजिमेन्टमा ६५००० र ब्रिटिश सेनामा ४ रेजिमेन्ट गोर्खा सैनिकको रुपमा काम गर्दै आइरहेका छौ भने नेपालमा रहेका मूल गोर्खासेनाहरु गणमा कार्यरत छन् । हामी कसैले प्रचार गरे जस्तो भाडाका सैनिक कदापी होइनौ । ७ नोवेम्बेर १९४७ मा ब्रिटेन भारत र नेपाल बीच त्रिपक्षीय सम्झौता अनुसार हामी भारतीय र ब्रिटिश सेनामा सेवा गरिरहेका छौ । कसैलाई लागेको होला गोर्खाली सेना भाडाका सैनिक हुन् जसले नुन दिएको छ उसको नुनको सोझो गर्नु पर्छ भनेर तर आफु र आफ्नो माटोमाथि गरिएको दमन कदापी सहन गर्ने छैनौ । जुनदिन अर्को देश संग युद्ध गर्ने परिस्थिति आउछ त्यो बेला आफ्ना सैनिकलाई फिर्ता बोलाउने अधिकार त्रिपक्षीय सम्झौताको बुदा नम्बर ८ मा प्रस्ट उल्लेख छ ।

गोर्खा सेनाको पुरानो इतिहास हेर्दा सन् १८१५ देखि सुरु भएको गोर्खा ब्रिटिश सहयात्रामा पहिलो र दोस्रो विश्वयुद्ध गरि झन्डै २ लाख भन्दा बढी गोर्खाली सेनाले विदेशी भूमिमा लडाई लडेको इतिहास हाम्रो समू ताजै छन् । गोर्खालीको विरता र त्रासदीको कथा हेर्ने हो भने वर्मामा भएको लडाई र तिनको इतिहास महत्वपूर्ण मनिन्छ ।
गोर्खाली सेनाहरुले १९४५ मार्चमा जापानी सेनासंग युद्ध गरेर विजय प्राप्त गरे, त्यसको सम्झनामा मण्डेल्य हिलको स्तुपामा ताम्रपत्र राखिएको छ। त्यसैगरी दोस्रो विश्वयुद्धमा शहादत प्राप्त गरेका ५० जना गोर्खा सैनिकको नाममा स्मारक स्थापना गरिएको छ । त्यतिबेला गोर्खा सैनिकको बलिदानले गर्दा जापानको आक्रमणबाट बर्मा जोगिएको भन्ने भनाइ अहिले पनि बर्माका नागरिकले भन्ने गर्दछन । सायद त्यहि प्रभावले होला गोर्खा भन्नासाथ बहादुर र सोझा हुन्छन भनेर सम्मानको दृष्णिकोणले हेर्ने गरिन्छ ।
दोश्रो विश्वयुद्वका लडाकु कमान्डर हिटलरले भनेका थिए, यदि मसंग गोर्खाली सेना भएको भय कुनैपनि देशका सेनाले मलाई हराउने थिएनन् । एक पाकिस्तानी जर्नलले भनेका थिए मेरो पक्षमा गोर्खाली सेना भएको भए दिल्लीमा आनन्दले डिनर गर्थे । एक भारतीय सैनिक कमान्डर फिल्ड मार्शलले भनेका थिए ,यदि कुनै मान्छे मर्न बाट डराउदिन भन्छ भने कि त्यो झुट बोल्दैछ कि त्यो गोर्खाली हुनु पर्छ ।
गोर्खालीहरुको केहि लुकेको इतिहास बिश्वको इतिहासमा बिरताको गाथाले कोरिएको छ । इतिहासमा नाम त लेखियो तर आफ्नै मुलुकको शासक भ्रस्ट हुनाले देशले कहिले गति लिन सकेन । फलस्वरूप केहि योद्धाहरु नेपाल बाट पलायन भएर विदेशमै जिवनयापन गर्न बाध्य भए । आज भारत, बर्मा, भुटान, यूरोप लगायत ब्रिटिशमा स्थायी रुपले बस्दै आउनु भएका सम्पूर्ण गोर्खाली बुबा आमा, दाजु भाई तथा दिदीबहिनीहरुको मूल घर र पुर्खा नेपाल नै हो ।


हामीले विश्वका कैयो देशहरुका सिमानामा लडाई गरेर बीर गोर्खाको उपाधी हासिल गर्न सफल भयौ तर आजभोलिका दिनमा हामीले छिमेकीबाट नै अपमानित हुने गरेका छौं । मैले यात्राको दौरानमा अनुभव बटुलेको छु,म जस्तै अरु दाजुभाइले पनि अनुभव गर्नु भएको होला । अन्य देशका नागरिक र हामीसंग गरिने ब्यबहारबाट नै स्पष्ट बुझ्न सकिन्छ अन्य देशहरुमा गोर्खा भन्नाले बहादुर, इमान्दार, कर्मठ र लगनशील बुझिन्छ भने हाम्रो छिमेकमा बहादुर भन्नासाथ् –रेस्टुरेन्ट, होटल, कारयालय अनि घरहरुका चौकीदार, सुरक्षा गार्ड या सहयोगीको रुपमा बहादुर भनेर सम्बोधन गर्ने गरिन्छ र गोर्खाको खिल्ली उडाइन्छ । चलचित्र साजनमा होटलको लिफ्ट गार्डलाई गोर्खा भनेर सम्बोधन गरिएको छ । त्यहाँ गरिएको सम्बादमा तीन पुस्ता सम्म बहादुर भनेर दर्शक हसाउने काम गरिएको छ । यस संवादले त्यहाका नागरिक कति खुशी हुन्छन त्यो थाह भएन तर हामी गोर्खा हुनुले अप्ठेरो महसुस अबश्य हुन्छ । यसको प्रमुख कारण नेपालका भ्रष्ट शासक नै हुन । कुनै शासकले इतिहासमा गरेको ठुलो गल्तीको भागीदार कति पुस्तासम्मले भोग्नु पर्दछ ? नेपालको कुनै पनि नेतृत्वसंग छ यस प्रश्नको जवाफ ?
संसारको कुनै कुनामा रहेपनि आफ्नो अस्तित्व मेटाउनु हुदैन,जहाँ रहदा पनि गोर्खाको पहिचान गोर्खा नै रहनेछ र राख्नुपर्दछ, परि आएको खण्डमा सबै ठाउबाट एक भएर आवाज उठाउनु पर्दछ । आफ्नो बिरताको पहिचानलाई युगौसम्म कायम गर्नु पर्दछ । अहिले दार्जलिङबासी दाजुभाइ दिदीबहिनी आफ्नो हक अधिकारको खोजीमा हुनुहुन्छ, त्यहाको सरकारले दमन गरेको छ यसघडिमा हामी सबैको मद्दतको खाँचो छ ,जहाँ बाट जसरि हुन्छ सकेको मद्दत गर्नु पर्दछ । विश्वलाई प्रजातन्त्र र मनाबधिकारको पाठ सिकाउन खोज्ने भारतले गोर्खा जाति माथि भेदभाव गरेको छ,अन्याय गरेको छ, दमन गरेको छ । भारतीय माटोको लागि ६५००० गोर्खाली सेनाले रगत पसिना बगाईरहेका छन । त्यसको बदलामा गोर्खा माथि दमन,अत्याचार, नाकाबन्दी आदिले गुण तिरिरहेको छ । संसार जितेको गोर्खाली आज आफै माथि अन्याय हुदा किन मौन छ ?
वीर गोर्खालीको इतिहास लामो छ कहानी धेरै छन तर आज बीरहरुको देश नेपाल भित्रभित्रै कमजोर बनिसकेको छ । विदेशी नुनले गलाउन थालिसकेको छ । भूकम्पको २ बर्ष बितिसक्दा पनि पिडितको आवास ब्यबस्था हुन सकेको छैन । ६०१ सभासद मात्रै होइन, लेखक, विद्वान,मानवअधिकारर्मी र तीन लाख जति राष्ट्रसेवक कर्मचारी पनि निरिह बन्नु देशको लागि दुर्भाग्य हो । ठुलाबडालाई सबथोक छ, निरिह जनतालाई गास, बास कपासको लागि हम्मे हम्मे परेको छ । नेपालीहरु विदेसिएर पलायन हुनु पनि यस्तै यस्तै कारणहरु हुन । करिब तीन करोड नेपालीको मौलिक धर्म सँस्कृति माथि नेपालका केहि नेताले खेलवाड गरिरहेका छन । धर्म भनेको सामाजिक अनुशासन हो, अनुशासन कायम रहे देशमा राष्ट्रिय एकता कायम रहन्छ र आफ्नो बहादुरीको पहिचान कायम गर्दै देशलाई सगरमाथाको चुचुरोमा पुर्याउन सकिन्छ ।
अन्त्यमा,
बिर गोर्खालीको देशको माटोलाई बिदेशी नुनले गलाउन लागेको छ । बिदेशी नुनले गलाएको माटोमा पनि देशको हावापानी अनुसारको फलफुल फलाउन सकिन्छ,यहा युवा जमात र युवा नेतृत्वको खाँचो छ । त्यसैले अब युवाहरु कलम, कुटो, कोदालो, खुर्पा, खुकुरी लिएर कामको थालनी गरौ, अब बिदेशीको माटोमा होइन स्वदेशको माटोमा राम्रो बिरुवा रोपेर मिठो फल फलाउनु छ,लगनशील र पौरखीको देश भनेर चिनाउनु छ ।

प्रतिकृया दिनुहोस