अन्तर्वार्ता

नेपालमै सवैखाले मानसिक रोगको उपचार सम्भव छ

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

डा रितेश थापा, निर्देशक,

रिदम न्यूरो साइकियाट्रि हस्पिटल एण्ड रिसर्च सेन्टर प्राली, एकान्तकुना, ललितपुर
रिदम न्यूरो साइकियाट्रि हस्पिटल स्थापनाको सोँच कसरी आयो ?
नेपालमा मानसिक रोगीको संख्या दिनप्रतिदिन बढदैछ । मानसिक रोग सम्बन्धि जनचेतनाको निकै कमी छ । मान्छेलाई मानसिक रोग भनेको पागलपन हो भन्ने भ्रम छ । यो रोग लागेपछि ठिक हुदैन, यसको उपचार सम्भव छैन र नेपालमा त उपचार गर्ने राम्रो ठाउं नै छैन भन्ने पनि भ्रम छ । मेरो प्राक्टिसको सन्दर्भमा मैले धेरै जिल्ला घुम्ने मौका पाएं । यसक्रममा मैले के देखे भने अहिलेपनि यस रोगको उपचारको लागि नेपालीहरु भौतारिरहेका छन् । मानसिक रोगीलाई आज पनि भारतको सिलिगुरी,लखनउ,राँची जाने लैजाने चलन छ । त्यसैले हाम्रो टिमले रिदमको स्थापना गर्ने सोच बनायो । नेपालमै सम्पूर्ण मानसिक रोगको सवै प्रकारको उपचार सम्भव छ भनेर देखाउन पनि यो हस्पिटलको स्थापना गरेका हौं ।
हस्पिटलको नाम रिदम नै कसरी जुर्यो त ?
धरै जनाले अचम्म मानेर यो प्रश्न सोध्नुहुन्छ । कतिले त मुटुको अस्पताल हो ? पनि भन्नुहुन्छ । हामीलाई के लाग्छ भने रिदम अर्थात लय मुटुको या संगितको मात्र हुदैन । जिवनको पनि आफ्नै एउटा रिदम छ । विभिन्न कारणले यो रिदम विग्रिन सक्छ । र मान्छे मानसिक रोगमा फस्छ या भनौ मानसिक रोग लागेमा पनि जिवनले रिदम गुमाउंछ । त्यसैले मानिसहरुको विग्रेको रिदमलाई ठिक ठाउंमा ल्याउनुपर्छ भन्ने मनसायले हस्पिटलको नाम नै रिदम हस्पिटल राखिएको हो ।
मानसिक रोग भनेर खासमा कस्तो अवस्थालाई भन्ने ?
व्यक्तिका मनका भावना, विचार, सोचाई, स्मरण शक्तिको आदिको विचलनले गर्दा भावना, विचार तथा व्यवहारमा जुन गडबढी देखिन्छ त्यसलाई मानसिक रोग भनिन्छ । मानसिक रोगको कारणले यस्ता व्यक्तिहरुले आफ्नो पूर्ण क्षमताका साथ कार्य सम्पन्न गर्न नसक्ने, कामको गुणात्मकता थगा यात्रामा कमी आउनाले उनीहरुको व्यक्तिगत, पारिवारिक ,सामाजिक तथा आर्थिक पक्षमा नकारात्मक प्रभाव देखिन्छ । त्यसैले मानसिक रोग भन्नाले दिमाग विग्रेका पागल हो भन्ने मात्रै होइन ।
मनसिक रोग कति प्रकारका हुन्छन् ?
कितावकै कुरा गर्ने हो भने धेरै प्रकारका हुन्छन् । सवै भनेर साध्य नै छैन तर सामान्यतया हामीले भन्दा कडा किसिमका मानसिक रोग र कम कडा अथवा हल्का किसिमको मानसिक रोग भनेर छुटयाउन सकिन्छ । कडा किसिमको मानसिक रोग भन्नाले मानसिक असन्तुलन या पागलपन भन्ने पनि गरिन्छ । डिप्रेशन, चिन्ता रोग या आत्तिने रोग , यौनजन्य मानसिक रोग या समस्याहरु, शारिरिक लक्षण मात्र हुने या धेरै हुने मानसिक रोग , छारे रोग, निद्रासम्बन्धि समस्या, विकृत तनाव, मद्यपान र लागु औषधीको लत सम्बन्धि समस्या, बालबालिकामा हुने मानसिक रोग , विर्सिने रोग लगायतका थुप्रै प्रकारका मानिसहरु हुन्छन् ।
मान्छे मानसिक रोगको शिकार के कारणले हुन्छ ?
कुनै पनि मानसिक रोग लाग्नुको पछाडि धेरै कारणहरु हुन्छन् । व्यक्तिगत कारण , पारिवारिक कारण, सामाजिक कारण, वंशानुगत कारण, मनोसामाजिक कारण, आर्थिक कारण । दिर्घकालिन रोग लागेका मान्छेलाई मानसिक समस्या हुने सम्भावना धेरै हुन्छ । यी विभिन्न कारणले गर्दा हाम्रो दिमागमा पाइने रसायन जसलाई न्यूरो ट्रान्समिटर भनिन्छ, त्यसको गडबढी हुन्छ अनि मानसिक रोग लाग्छ ।
नेपालको मानसिक रोगको अवस्था कस्तो छ ?
नेपालमा मानसिक रोगीहरु कति छन भनेर निश्चित अनुसन्धान भएका छैनन । विभिन्न जानकारी स्रोतका आधारमा हेर्दा झण्डै २० देखि २५ प्रतिशतमा कुनै न कुनै किसिमको मानसिक समस्या छ भनेर अनुमान गरिएको छ र यो बढदो क्रममा छ । अझै पनि धरै ठाउंमा मानसिक रोग लाग्यो भने लुकाएर राख्ने । कडा किसिमका रोगीहरुलाई थुनेर र नाम्लोले बांधेर या खोरमा राख्ने । लाखौ पैसा खर्च गरेर अन्य विशेषज्ञ डाक्टरकोमा जचाउन जाने तर मनोरोग विशेषज्ञकोमा नजाने, विवाह गरिदिए मानसिक रोग ठिक हुन्छ भन्ने , भूतप्रेत लागेको भनेर धामी झाक्रीकोमा जाने चलन छ ।
नेपालमा मान्छेहरु भूकम्पपछि बढि डिप्रेशनको शिकार भए भन्ने सुनिन्छ हो ?
कुनै पनि यस्ता घटनापछि मानसिक तनाव बढ्ने हुन्छ । भूकम्पवाट धेरै प्रभावित जिल्लाहरुमा डिप्रेशन मात्रै होइन, एन्जाइटी, रक्सीको समस्या आदि बढेको देखिन्छ तर नेपालभरि सवै ठाउंमा धेरै रोगी बढे र यसले हैजा जस्तो विकराल रुप नै लिइसक्यो  भन्ने चाहि होइन ।
मानसिक रोगको उपचारका सन्दर्भमा नेपालमा कुन लेभलसम्मको उपचार पद्वति उपलब्ध छ ?
मानसिक रोगको उपचारको हकमा कुरा गर्दा विदेशमा हुने प्राय सवै उपाचार उपलब्ध छ । यो निकै खुशीको कुरा हो । धेरै महंगो उपचार पनि छैन । धेरै ठूला मेसिन नै चाहिन्छ भन्ने पनि छैन् । त्यसैले निर्धक्क भएर नेपालमै उपचार गराउन सकिन्छ ।
रिदममा के कस्ता मानिसक रोगको उपचार गर्नुहुन्छ त ?

हाम्रो अस्पतालमा सवै किसिमका मानसिक रोगको सस्तो, सुलभ तथा सरल तरिकाले उपचार गरिन्छ । चिकित्सक मात्रै होइन, यहां चिकित्सा मनोविदसंग मिलेर विरामीको रोगलाई राम्रोसंग बुझेर छलफल गरेर औषधी मात्र होईन सहि परामर्शका साथ उपचार गरिन्छ । औषधीले ठिक नभएकालाई इसीटि अर्थात विद्युतिय प्रणालीवाट पनि उपचार गरिन्छ । यो २५ बेडको मान्यताप्राप्त अस्पताल भएकाले विरामी भर्ना गरेर राख्ने व्यवस्था छ । कुरुवा वस्न नपर्ने, क्याविन चाहिनेको लागि क्याविन, भर्ना नगर्ने तर घरमा दिनभरि राख्न पनि नसकिने विरामीको लागि डे केयर, विहान लिएर आउने र बेलुका लिएर जाने सम्मको पनि व्यवस्था छ । २४ घण्टा इर्मजेन्सी सेवा उपलब्ध छ । र रक्सी तथा लागुऔषध खाएको नखाएको जाँच गरि उपचार समेत यहां गरिन्छ ।
अस्पतालका भावी योजनाहरु के के छन् ?
मनोरोगको उपचारलाई अस्पतालमा मात्र सिमित नगरेर समुदायसम्म विद्यालयसम्म र देशका कुना कुनासम्म पुर्याउने उद्देश्यले कम्युनिटि मेन्टल हेल्थ प्रोग्राम, स्कूल मेन्टल हेल्थ प्रोग्राम संचालन गरिसकेका छौं । भविष्यमा यहि कार्यक्रमलाई विस्तार गर्दै शैक्षिक कार्यक्रम गराउने, अनसन्धान गर्ने, यस विषयमा पाठनपठन शुरु गरेर १५० बेडको अस्पताल तथा अनुसन्धान केन्द्र बनाउने सोच राखको छौ  ।

प्रतिकृया दिनुहोस