साहित्य

अन्तर मनको चित्कार

 

 

 

 

 


पार्बती शाही
माघ, २०६८
कुरिति र कुसंस्कारको सीमित चौहोरा भित्र निस्कासिदै उदेकको जीवन घिसारी रहेका हामी नेपाली नारीहरु । जीन्दगीको रंगमञ्चका पात्र हामी, एउटा निस्सार नाटकका दर्शक हामी । जीवन भोगाईको विचित्र नाटकमा कहाँ के हुदैन ? त्यस प्रति हामी अनभिज्ञ छौं । उक्त नाटकका मुक दर्शक हामी खाली ताली मात्रै बजाई रहन्छौं । हामी रंगमञ्चको पर्दा खस्दा पनि ताली बजाई रहेका हुन्छौं भने पर्दा उघ्रिदा त झन बेजोडको तालले हात पिटीपिटी ताली बजाई रहेका हुन्छौं । हामीलाई ताली बजाउनुको अर्थ थाहा छैन र ताली नबजाउनुको अर्थ पनि थाहा छैन् । बस यति मात्रै थाहा छ, आफ्नै हात पिट्नमा आनन्द छ र त ताली बजाई रहन्छौं । जीन्दगीको रंगमञ्चमा खुशीका पर्दालाई खसाल्ने हातहरु अर्कै कै हुन्छन् र त्यो रेसमी पर्दालाई उचाल्ने हातहरु पनि अर्कै कै हुन्छन् । हाम्रो संलग्नता त्यहाँ निर हुदैन् । दृष्यलाई रचना गर्ने सोच अर्कै को हुन्छ भने भूमिकाको लागि पात्रको छनौट गर्ने दीमाग पनी अर्कैको हुन्छ । संवादलाई सुनौला अक्षरमा रंगाउने कलम अर्कैको हुन्छ भने त्यसलाई अथ्र्याउने जिब्रो पनि अर्कै को हुन्छ । हामी त सदा शालीन शान्तिमा आफ्नो अस्थित्व अर्कैलाई सुम्पिएर चेतनाका आँखाहरुमा विसङ्गतीको कालो पट्टी बाँधेर पराधिनतामा दयाका पात्र भई बाँच्न अभ्यस्थ छौं । आवेग र कुन्ढाहरुलाई मन भित्र दवाएर राख्दा–राख्दा सुकोमल मन कामै नलाग्ने थोत्रो भण्डार भएको छ । अव त काम लाग्ने बस्तु पनि खोजेर प्रस्फुटन गर्न असमर्थ भएका छौं । हामी सदैव कठपुतली बनाईनुमा गौरबान्वित ठान्छौँ । जीवन टाट्नाको बाख्रो जस्तो हुदाँ पनि हामीलाई नारी स्वतन्त्रताको अर्थ थाहा छैन । के नै गर्न सकिन्छ र ? थाहा भएर पनि । हाम्रो समाज जहिले पनि नारी चित्कारलाई दवाउन मै आनन्द ठान्छ । त्यसैले त बोल्ने मुखहरु बन्द छन् । कलम चलाउने हातहरु अवरुद्ध छन् । हामी त बगरका ती ढुङ्गा हौ, जसलाई बर्षा यामको खहरेले कति पल्ट पखाली सक्यो । हेमन्तको सिरेटोले कति पल्ट चिमोटी सक्यो । अभाव र उत्पिडनका बात्छिटाले रंगिएको जीवन त अव के ? बलेसीको डोव नै भै सक्यो । जहिले पनि समस्याका माखेसाङ्लाले अड्डा जमाई रहे ।
बनावटी सजावटले जति नै सजाईए पनि । खोक्रा आडम्बरको आँचल जति नै बडाईए पनि नारी अन्तर मनमा जर्जर पिडा छ, जलन छ । यहाँ हर आमाको मुटु चहराएको छ । प्रत्येक छोरीको मन दुखेको छ र प्रत्येक बुहारीका स्वतन्त्र भई बाँच्ने रहरहरु खोसिएका छन् । जीवन भोगाईका हरेक पाईलापिच्छे जुनसुकै समय, जुनसुकै क्षण हामी असुरक्षित छौं । खै त ? हाम्रो नारी अस्मितालाई संरक्षकको पदक विभुषित अभिभावक भनाउँदाहरुले जतन गर्न सकेको ? घर, परिवार र समाजमा निर्धक्क भई स्वतन्त्राको जीवन खै हामीले जीवन सकेको ? यहाँ आफ्नै भन्ने जीन्दगी पनि आफ्नोे छैन । कहिले जन्मदाताको निम्ति बाँचिन्छ भने कहिले पति परमेश्वरका निम्ति बाँचिन्छ । बाँकी रहेको फाटो अदकट्टी थोत्रो जीवन सन्ततीका लागि समर्पित भई बाँचिन्छ । यो कस्तो विडम्पना हो ??? आफ्नै भन्ने शरीर पनि अफनो नहुने, आफ्नोे भन्ने मन आफ्नोे नहुने सकल जीन्दगीको त के कुरा । हिड्ने प्रत्येक पाईला पिच्छे हामीलाई सिमाङ्कन गरिएको छ । त्यही परिधि भित्र हामीले रमाउनु पर्ने रे । बस् ....., त्यतिमा सीमित छ हाम्रो विबसताको रंगिन संसार ।
नारीले सहनु पर्छ । सहने बाध्यता छ हामीलाई । बालकै देखि सहँदा सहँदा हामीले ढुङ्गो भै कठोर हुनुपर्छ । आरोपहरु र दुःख कष्टहरु हाम्रो भागमा छुट्याईएको छ । रुख जस्तो सधै एकै ठाउँमा उभिएर सारा आँधि, असिना सहनु पर्छ हामीले । चाहेर पनि ठाउँ सर्न नसक्ने बृक्षको बाध्यता जस्तो छ हाम्रो जीवन । पस्थितिले हामीलाई विवश बनाएको छ ।
भनिन्छ, यर्थात त तितो हुन्छ रे । हो, यहाँ पनि नारी जीवन भोगाईका कटु सत्यको कुरा गर्दा निश्चय नै हाम्रो समाजले औला उठाउँछ । जुरमुराउँन लागेका भावनामाथि कुठाराघात हुन्छ । यी कुनै बनावटी अभिव्यक्ति होइनन् न त एका देशको दन्त्य कथा नै हो । हो त केवल हामै्र घरभित्रको तीतो जीवन्त यथार्त । जुन युगौं देखि हाम्रो समाजका जरा गाडेर मौलाई राखेको छ । शोषण र दमनको मलजलले पोसिएको छ । शताव्दीऔंं देखि चल्दै आएको प्रथालाई मेरो क्षणिक प्रयासले निकै कायापलट त नहुन सक्ला तर इच्छुक जो कोहिलाई भने एक पटक सोच्छ बाध्य अवश्य गराउने छन् मेरा यी अभिव्यक्तिहरुले ।
हामी पुरुष प्रधान समाजमा हुर्किदै आएका छौं । परापूर्व काल देखि पुरुषहरुको हैैकमवादी पुरुषत्वका सिकार भएका छौ हामी । कुनै न कुनै तवरबाट हामी पिडित छौं, शोशित छौं, दमित छौं । अखवारका मुख पृष्ठमा प्रकाशित समाचारका विषय बनेका छौं हामी । सर्वत्र सार्वजनिक हुने अखवारको समाचार जस्तो विकृत जीन्दगी भोग्नु परेको छ हामीले । घर परिवार तथा सन्ततीका लागि ज्यानको आहुति दिदा दिदै पनि सँगै बाँच्ने र सँगै मर्ने कसम खाएका परमेश्वरको संज्ञा पाएका आफनै पतिदेवका हात बाट रेटिनु परेको तितो यर्थात छ हामीसँग । हामी फगत मनोरञ्चनका साधनका रुपमा प्रयोग गरिएका छौं । हाम्रो अस्मिता सिनेमाका पर्दामा टाँसिएको छ, विज्ञापनका पानामा छापिएको छ र बेश्यालयको ढोकामा उम्याईएको छ । यति हुँदा हुँदैपनि तिनै पुरुष वर्गलाई हामीले आफ्नोे पवित्रताको अग्नि परीक्षा दिनु परेको छ । प्रत्येक सफलतासँगै जोडिएको अप्रतक्ष्य नारी अस्मित्व जहिले पनि ओझेलमा पर्ने गरेको हुन्छ । सफलता, मान, सम्मान र जस जति पुरुष सँगै जोडिएका पर्यायवाची भए पनि विवश अपजसका पात्र भएका छौ हामी ।
यी र यस्तै किसिमका दुव्र्यबहार पूर्ण नजरहरुले चेतनशील मनमा आक्रोसका ज्वारभाटा पैदा गरिदिदा रहेछन् । जीन्दगीमा पाएको सास्ती, भोगाई, दुःखद घटनाले नै मानिसलाई बाँच्नकालागि क्रियाशिल बनाई दिंदो रहेछ । धोका, दमन, अन्यायले नै मानिसलाई चेतनशील र शशक्त गराउँछ । जिन्दगीमा बेहर्नु परेका हारहरु र तिता सत्यहरुले केही गर्नका लागि झक्झक्याउँदो रहेछ, उत्साहित गराउँदो रहेछ ।
आम चेतनशील नारीहरु अव हामीले बाँच्ने गरेको उदेकको नारकीय जीन्दगीलाई मुक्ती दिलाउनु पर्छ । सहनुको सिमाले पराकाष्ठा नाघिसक्यो । यो अन्याय, अत्याचार, दमन, शोषणका सिकार कहिले सम्म हुने हामी ? हाम्रो अस्मितालाई हामीले नै जतन गर्न सक्नु पर्छ । समयको गति सँगै अज्ञानताका काला पट्टीलाई चेतनाको चक्कुले धुजाधुजा गरी च्यात्नु पर्छ । जिवन आफ्नोे बनाई हर सफलतामा रंग भर्ने प्रयास गर्नुछ हामीले । यो जिन्दगीरुपी रंगमञ्चमा नेपथ्यको चित्कारलाई पर्दामा उतार्न हामीले हातेमालो गर्नुछ । बनावटी संसारको लितपोतमा सजिएर पवित्र ज्यानलाई पैसा सँग साट्नेकाम आजैदेखि बन्द गर्नुपर्छ । अखवारको मध्यपृष्ठमा अस्मितालाई नङग्याएर यौवनको मादकता अरुलाई पिलाएर उपहासका पात्र नबनौं हामी किनकी हामी कुनै हालतमा पनि मनोरञ्जनका साधन होइनौं । यो कुरा हामीले बुझ्नु नितान्त जरुरी छ । स्वधिनतामा प्रतिकारको जिन्दगी जिउनु पर्छ हामीले । हामी नारी भएकै कारण बेहर्नु परेका लान्छनालाई फिर्ता लिनु पर्छ यो समाजले ।
निति निर्माण तह देखि कार्यान्वयन तह सम्म हाम्रो सक्रिय संलग्नता हुनु पर्छ । नारी स्वतन्त्रताका लागि न्यायको कठघरामा बकालत गर्न पाउनु पर्छ हामीले । बर्सेनी हामी निमुखा नारीहरुले घरेलु हिंसाको सामान गर्नु परेको बाध्यतात्मक स्थिती लाई मध्ये नजर गरी अगुवाईमा संलग्न हस्तीहरुले समाज सापेक्ष अवधारणत्मक रणनीती तय गर्नु नितान्त जरुरी छ । दिन दुई गुना र रात चौगुना घरेलु हिंसा मौलाउँदै गएको मुलुकमा कसरी हामीले स्वतन्त्रताको स्वास र्फेनु ? यो नै सोचनीय कुरो छ तपाई हाम्रा सामु ।

 

प्रतिकृया दिनुहोस