साहित्य

एेना

 
जीवनको संघारमा पाइला टेके पछि प्रत्येक नारीले हार्न जानेको हुनुपर्छ नभए हार्ने बानी बसाउनुपर्छ। हारबाट नै जितको शुरूवात हुन्छ। हार स्वीकार्दै जीवनलाई माथि माथि उचाल्ने प्रयत्न गर्नु नारीको कर्तब्य र उत्तरदायित्वमा पर्छ क्यार। एक पल्ट जित्ने प्रयत्न गरिन मात्र भने पनि त्यहाँ भुकम्प आउँछ , डढेलो लाग्छ र सब खरानी हुन्छ। लेश मात्र बच्दैन जीवन अर्थको , परिवार नामको । अचम्म त त्यहाँ छ एउटै नारी सासूको रूपमा अर्कै हुन्छ । बुहारीको रूपमा अर्कै । बिभेदलाई नसहने अर्कै नारी पनि जन्मे कै छ त्यहिँ बिचमा । 
     दृष्टि सधै झै मौन छिन्। उनीले केही सुनेकै छैन्। बहीरी बनेकीछिन् उनी। यस घरमा बिवहा भएर बुहारी बनेर आएको पनि ६/७ बर्ष भइसक्यो। तै अलिअलि ठूलो स्वरले बोलेको थाह छैन। श्रीमान लाहुरमा छ, यसैले छुट्टीमा आउँदा सदा भन्दा केही हँसिली र उज्यालो देखिन्छिन्। उनलाई बिवहा गरेर ल्याउँदा त्यसै त्यसै बनपाखामा फुलेको सुनगाभा जस्तै थिइन। त्यहिँ सुनगाभा हुन उनी भनेर ठम्याउनु पनि हम्मे पर्छ। आजभोली निरास र थाकेको अनुहार , एकोहोरो रोएर बेहोस भए जस्तै चुपचाप रहन्छिन्। टोलाई रहन्छिन्। जीवन के होला ? भन्ने प्रश्नले उनलाई सधै गाँजी रहन्छ। अलिकति जीउनुलाई कतिपल्ट मर्नु पर्ने ? म मान्छे , उ मान्छे , उनीहरू सबै मान्छे , मान्छेले मान्छेलाई किन खाने होला खर्लप्पै ! कस्तो घमण्ड होला त्यति जित्नुमा ! कस्तो बठ्याई त्यति हराउनुमा ! म हारेको मान्छे । होइन नहुदो कुरामा , मैले गर्दै नगरेको कुरामा म किन चुप लाग्ने होला भन्ने पनि नलागेको होइन । 
      फेरि बिवहाको रातमा श्रीमान सन्देशले भनेको कुराहरू सम्झिन्छिन्- हेर दृष्टि मैले तिमीलाई मन पराएर ल्याएँ। आमाले कतै अन्ततिर केटी हेर्नुभएथ्यो रे। तिम्रो लागि सायद मैले आमाको मन दुखाए। यसैले मेरो लागि तिमीले आमालाई सधै खुशी राख्ने छौ । तर दृष्टिको हरेक प्रयत्न हरेक सहनशिलताले पनि केही नलागे पछि उनी दुखी हुन स्वभाविक थियो। दुख सहनुको पीड़ा कुनै दिन बिष्फोट हुने होकी ! डराउँछिन आफैसँग । जब सत्य उदाड्गो हुन्छ त्यो  तितो नै हुन्छ । मान्छे आफूलाई माथि पार्न कति असत्य अघि सार्छन् उफ़ ! भन्न मन लाग्छ दृष्टिलाई सासूको उपद्रो ब्यवहारहरूले। 
       हिजो मात्र दृष्टिको आमाजूँ दिदी माइत आएकी छिन्। सासूको फुर्ति झन बेसी नै बढेको छ। बिहानबाट नै घरी तल घरी माथि गरिरहेकीछिन्। ऊ सहजै बुहारीलाई भन्न सक्छिन् । यो बोक्सीले घरमा पाइला हालेपछि सब बर्बाद भयो। छोरालाई पनि टुनामुना गरेर आफ्नो बनायो । मसँग पहिले जस्तो ब्यवहार पनि गर्न छाड्यो। त्यति टाडो लाहुरबाट चिठ्ठी पत्र पनि यसैलाई मात्र लेख्छ र ! यसले मेरो जति जलाई दिन्छ बुझिस भन्दै छोरीलाई भन्छिन्। तेरो भाईलाई राम्ररी सम्झा। योसँग त्यसको घरबार हुँदैन। फेरि शान्त र गम्भिर हुँदै भन्छिन् । तिमीहरूको बाबा तिमीहरू सानै हुँदा बित्नु भयो । मैले कति दुख र कष्ट सहेर हुर्काए बढ़ाएँ। फूल जस्तै गरेर हुर्काएको मेरो छोरों यसले टपक्क टिप्न त्यसै पाउँछ। मैले जीवनभर सजाएको सपनालाई पनि त्यसले लात मार्ने ! मैले मुटुमा टँसाएर हुर्काएको सन्तान हो। हुन त त्यसको मनै अर्काले बिगारे पछि त्यसले पनि के गरोस र ! नभए तेरो भाई मैले जे भने पनि शिरोपर गर्छ । ( फेरि केही सोचे झै गरेर भन्छिन् ) अब यहि महिना आउँछ होइन ? 
     "अँ ६ महिनाको छुट्टीमा आउँछ रे । हिजो बुहारीले भन्दै थिइ।"
       त्यसले भनिरहन पर्छ र ? आउँछ त आउँछ नीं। 
       छोरी सम्झाउने प्रयत्नमा भन्छिन् ।
" आमा तपाई बुहारी प्रति एकोहोरो किन खनिनु भएको ? भाईले मन पराएर ल्यायो त उसको के गल्ति ? फेरि यतिका बर्ष बितिसक्यो । उ एक्लै टिकेर बसेकी छ। छोरा छ काखमा , त्यसको मुख हेरेर पनि तपाईले आफ्नो सपनाको जाल बुन्न छाडनुहोस न। उ पनि पढे लेखेकी केटी हो । तपाईलाई बुझेर नै सधै मौन रहन्छे। नभए के के हुन्थ्यो उहिले नै । म चाहिँ सक्दिन यसरी। मलाई माया गर्ने बुढा र सासू हुँदा त कहिले काहिँ थोरै भन्दा रन्को छुटछ भनिदिन्छिन् ।
       आमा उसरी नै बक्छ। "के हुन्थ्यो र ? घर छाडेर जाली त्यो बैफाली, झनै सजिलो हुन्छ। छोराले अर्कै ल्याउँछ नी । "
     भाईले अर्को ल्याउँदैमा समस्याको समाधान हुन्छ भनेर तपाई मलाई छातिमा हात राखेर भन्न सक्नु हुन्छ ? छोरा बुहारी मिलेर गरी खाएको किन देख्न सक्नु हुन्न तपाई ? अर्को पनि त तपाईको लागि बैफाली नै हुन्छ। तर त्यो अर्कोले दृष्टि जस्तो चुपचाप बस्न नसिकेको भए के हुन्छ थाह छ ? आमालाई हकार्दै सत्य बुझाउन खोज्छिन् तर आमा एेनामा एकोहोरो उभिरहेको हुन्छ एक टक ।
        एेना हेर्दै गरेको आमालाई एेनातिर संकेत गर्दै भन्छिन् ' यो एेना हामी सानै हुँदा पनि यही भित्तामा झुण्डिएको थियो। त्यति खेर यसरी आफूलाई नियालेर हेरेको थाह छैन्। आज भोली एेना अलि बढी नै हेर्नु हुँदो रहेछ नी। कस्तो देख्नु हुन्छ र यसरी हेर्नु हुन्छ हँ ? ' 
    आमालाई छोरीको कुनै कुराले असर नै गरेको छैन।अझ एेना हेर्दै बोल्छिन्। हेर त गाली पनि कस्तरी चाउरीन थालेछ। कपाल पनि निधार माथि त निकै फुलिसकेछ हगी ? भनेर भन्न मन लागे पनि केवल गाला मुसारेर 
कपाल सुम्सुमाएर छोरीलाई हकार्दै भन्छिन् ' तिमी दिदी भाईलाई के भएको छ हँ ? त्यो सँग त्यसै त्यसै डराउँछौ। लठ्ठ परे जस्तो त्यसको सबै कुरामा तिमीहरू केहि भन्नै सक्दैनौ। त्यसले मेरो मुटुमा पुराएको चोट किन देख्दैनौ ? 
      दृष्टि चिया खाजा लिएर आइपुग्छे। हातमा सानो लुगाको पोका जस्तो पनि ल्याएको हुन्छे र सासूलाई थमाउँदै भन्छ ' पल्लो घरको मदनको बाबाले ल्याई दिनु भएको पार्सल। वहाँले मलाई चिठ्ठी र तपाईलाई पार्सल पठाउनु भएको रे।चिठ्ठीमा तपाईलाई साड़ी पठाएको छु भन्नु भएको छ। वहाँ पनि अर्को हप्ता आइपुग्नु हुन्छ रे।आमाजूँ दिदीलाई सन्देश आउँदा सम्म बस्ने आग्रह गर्छिन् । सासू पार्सल लिउ नलिउ गर्दै थाप्छ र भुइमा राख्छ। खोलेर हेर्ने सम्म जाँगर नभए जस्तो
    दिदी खुशी हुदै भन्छिन्। तिम्रो आग्रहलाई मैले कहिले टारेकी छु ? दिदीको न्यानो स्नेहमा दृष्टिले सधै आँट पाएकी छ। जीउने सहास पाएकी छ । भताभुड्ग हुने मनहरू सम्हालिन पाएको छ। यसैले दृष्टिले हृदयबाट नै आदर गर्छिन दिदीलाई।
    समय बित्नु कति पनि लाग्दैन। आमा छोरीको गनथन र आमाजू बुहारीको दुख सुखको बाँडफाँडमा हप्ता दिन त्यसै बित्छ। त्यस बीचमा दृष्टिले एकपल्ट दिदीलाई भनेको पनि हुन्छ ' म अभागीले आमालाई कहिले खुशी राख्न सकिन्। आमाले हेरेको केटी यो घरमा आएको भए यो घर आज कति रमाइलो हुन्थ्यो होला। सन्देशले पनि आमाको  इच्छालाई बिचार्नु पर्थ्यो। 
     पगली त्यस्तो पनि सोच्ने हो ? दिदी मायालु हकार्छिन् बुहारीलाई। त्यस्तो सोचाईलाई तिमीले जति प्राथमिकता दिन्छौ नी त्यति नै तिमी दुखी हुन्छौ भन्छिन्। सकारात्मक सोच । सानो घर परिवार । दुख सुखको आफ्नो संसार । अलिकति आवश्यकता , अलिकति अभाव , छोराछोरीको कर्तव्यबोधले जीवन खिइदै गएको सम्म तिमी थाह पाउदैनौ। आमा त्यस्तै हुन। उनी आफैसित खुशी छैनन्। तिमीसँग के खुशी हुन्छिन् ! हुन त उनको पनि के दोष , बिधाताले उमेर छदै लोग्ने खोसेर लग्यो। २०/२२ बर्षको उमेरमा नै बिधवा बनिन्।  यसो जोइपोइ मिलेर हिड्यो की नकचरा नकचरीहरू दिउसै रात पार्छ भन्दै सराप्ने बानी त उहिलेबाट हो। जीवनको अनिदो रातहरूको ब्याथा आमा स्वयंलाई हिसाब नहोला । अरूको खुशीले किन पोल्छ मान्छेलाई।आफ्नो दुखले जिस्काउँदो होला । नभए मान्छे यति बैगुनी नहुनु पर्ने आफ्नैमा । एकक्षण चुपचाप बस्छिन् दिदी र फेरि दृष्टिलाई सोध्छिन्। होइन दृष्टि , हिजो आज आमा अनुहारमा के दल्नु हुन्छ हँ ? एेना पनि कति हेरिरहनु परेको ? सधै यस्तै हुन ? 
     दृष्टि भन्छिन् ' मलाई शुरू शुरूमा त थाह छैन । हिजो आज भने बिहानै उठेर कोरीबाटी गर्नुहुन्छ। क्रीम दल्नु हुन्छ र दिनमा ४/५ चोटी त एेनामा नै उभिई रहनु हुन्छ। कहिले त घण्टौ सम्म पनि टोलाएर एेनामा हेरिरहनु हुन्छ । रातभर पनि गनगन गरेर निदाउनु हुन्न। एक दिन म काम परेर बाहिर गएको थिए। आउँदा आमा एेनामा टोलाई रहनु भएथ्यो। चिया पकाएर पुराएकी मात्र थिए। त्यति तातो चियाले हिर्काउनु भयो। यति खेर तेरो कुन नाठोलाई भेटेर आउँदै छस्, तँ यो घरमा सौता भएर आएको होस निस्केर जा भन्नु भयो । म त आमा बौलाउनु भएछ भनेर गाउँ भरि हार गुहार गरे। अस्पताल पुर्याए। 
   सन्देश आइपुगेको बिहानै रडाँको मच्चियो। आमा छाती पिटीपिटी रोइरहेकी थिइन। छिमेकी वरिपरी झुम्मिएका थिए। आमा भन्दै थिइन। ' हेर यसले मेरो लगाउने लुगा जम्मै काटी दियो। च्याति दियो। प्रेत भएर रातभर सुत्न दिदैन। सधै घाँटी अठ्याउन आउँछे। म मर्नु न बाँच्नु भइसके। यसलाई यहाँबाट अहिले खेदिदेओ। 
      सन्देश आमाको हरकतले अलमल पर्छ । दृष्टिलाई अनुहारमा हेर्न सम्म सक्दैन। लाजले  आफैलाई दोषी देख्छ। सोच्छ - मैले आमाको यो हरकत एकैक्षण त सहन सकिन भने दृष्टिले कसरी झेलिन होला ? फेरि सोच्छ यतिका राम्रा लुगाहरू दृष्टिले किन काटिदियो ? साँच्चै दृष्टिले गरेको हो भने आमाको मन किन नदुखोस। कति पीड़ा झेलेर हामीलाई हुर्काएकी आमा। मैले दृष्टिलाई बिवहा गरेर ठिक गरे गरिन । आफैमा प्रश्नवाचक भएर उभिन्छ । आमा भनेको आमा नै हो। आमाको न्यानो माया म कहिले पाउँन सक्दिन । वहाँले हाम्रो लागि भोग्नु भएको कष्टको पैचो तिर्न पनि सक्दिन। दृष्टि मेरो माया मात्र हो। माया भनेको जहाँ जति खेर पनि ......... ! होइन दृष्टि त्यति सस्तो मायामा पर्दिनन्। उनी मेरो जीवन संगिनी हुन्। मेरो सहारा भरोसा र मार्गदर्शक पनि हुन्। मैले उनको त्यागलाई , सहनशीलतालाई हलुकाआक्न हुदैन। जीवन बाँच्ने भोग्ने क्रममा हामी दुई मुटु एक धडकन हौ। उनी बेगरको जीवन म कल्पना सम्म कसरी गर्न सक्छु ? 
      दृष्टि आज बेस्सरी रोइ। दिनभरि रोइ। छोरालाई छातिमा राखेर अझै सुकसुकाइ रहेकी छे। सन्देश दुबिधामा पर्यो। दिदी आज मौन छ। लाग्छ उसलाई सब थाह छ। यसैले केहि बोल्नु भन्दा नबोल्न ठिक मान्यो। भाईलाई यति मात्र भन्छ ' दृष्टिलाई सम्हाल। तिम्रो पर्खाइमा उसले सहनु पर्ने जति सहिसकी। उ निर्दोष छ। आमालाई पनि सम्झाउन सम्म सम्झाएकी थिए। तर वहाँको मनको त्रासले कस्तो सोच जन्माउँछ कोन्नी ! त्यस पछि दिदी एेनाको अगाडि आइपुग्छ । के के मनमा तर्कना गरे झै गर्दै फेरि आमाको कोठामा पुग्छ। दिदीलाई किन लाग्छ यहि एेना हो आमाको कलहको बोट ।,आमाको मनको बाघ ।
       मनको आकासबाट तर्कनाको दर्के झरी चुहिएरै साँझ पर्यो । पुन : दिदी एेनाको अगाडि उभिएर रातको प्रहरमा के सोच्छिन कोन्नी । एक्कासी उक्त एेना झारमझुरूम हुने गरि फुटाई दिन्छिन्। एेना फुटेको आवाजले दृष्टि अत्तालिएर सन्देशको अँगालोमा बाँधिन पुग्छ। अर्को कोठामा आमा नबुझिने स्वरमा कराई रहेको हुन्छ । आमा या आमा भित्रको अर्को मान्छेको अभिब्यक्ति ? ' मेरो मुटुको टुक्रालाई खोस्ने ? यसलाई म कहाँ बाँकी राख्छु र ? त्यसपछि आमाको कोठामा के के काटेको , च्यातेको आवाज़ आइरहन्छ ट्याक ट्याक .....ध्वार -ध्वार ..... ।

प्रतिकृया दिनुहोस