विचार/ब्लग

पहिलो चरणको स्थानीय चुनावले दिएको सन्देश

प्रकाश पोखरेल  ।

विभिन्न शंका र उपशंकाका बाबजुद पहिलो चरणको स्थानीय चुनाव सम्पन्न भएको छ । विगतका तुलनामा केही छिटफुट अपवादका घटना बाहेक चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न भएको देखियो । तर मतगणनाको प्रक्रिया र ढिला सुस्तीप्रति आम राजनीतिक दल र कार्यकर्ताहरुको असन्तुष्टि छरपष्ट भएको छ । यसपालिको स्थानीय चुनावले दलहरुलाई फरक सन्देश दिएको देखियो ।

·      बिना उद्देश्यको फरक राजनीतिक दल बिचको चुनावी गठबन्धनको औचित्य

·       दलहरुमा मौलाउँदै गएकोदम्भप्रति जनप्रहार

·      वैकल्पिक राजनीतिक शक्तिप्रति जनचासो

विगतका विभिन्न निर्वाचनहरुमा फरक दलहरु बिचमा यदाकदा आन्तरिक तालमेल हुने गरेको देखिन्थ्यो । तर यसपालिको निर्वाचनमा ठूला राजनीतिक दल मानिने नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र तथा नेपालको संविधानप्रति नै फरक मत राख्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत विभिन्न दलहरुको ठूला राजनीतिक दलहरुसँगको गठबन्धनलाई जनताले खासै रुचाएको देखिएन । पहिलो चरणको निर्वाचनको प्रारम्भिक मत गणनामा धेरै बदरमत देखिनुको कारण दलहरु बिचको गठबन्धन नै देखियो । दलहरुले चुनावी गठबन्धन गरेर उम्मेदवार खडा गरे पनि कार्यकर्ताहरुले आफ्नै दलको चुनाव चिन्हमा मतदान गरेकै कारण धेरै मत बदर हुन पुगेका हुन् । निश्चित उद्देश्य बिना गरिने फरक राजनीतिक दल बिचको चुनावी गठबन्धनको खासै औचित्य नहुने प्रष्ट भएको छ । विभिन्न राष्ट्रिय राजनीतिक परिवर्तन र निश्चित उद्देश्यको लागि गरिने जनमत संग्रहहरुमा फरक दल बिचको गठबन्धनको अर्थपूर्ण महत्व  रहन सक्छ तर दलीय स्वार्थको लागि गरिने अपवित्र गठबन्धन जनताले रुचाउँदैनन् भन्ने कुरा प्रारम्भिक मत परिणामले प्रष्ट पारेको छ ।

प्रारम्भिक मत परिणाम हेर्दा सत्तारुढ कांग्रेस मान्ने दल गठबन्धन दोस्रो र तेस्रो स्थानमा झरेको देखिन्छ । मधेसी दलप्रति आक्रामक बन्दै गइरहेकै कारण पहाडी जनताको मन जितेर अग्रता कायम गरिरहेको भन्ने एमालेप्रतिको टिप्पणी पनि सुन्ने गरिन्छ । सत्तारुढ घटक कांग्रेस माओवादीमा पछिल्लो पटक मौलाउँदै गएको दम्भका कारण अपेक्षाकृत सफलता हासिल हनु नसकेको टीका टिप्पणीहरु पनि हुने गरेका छन् । प्रधानन्यायाधीश माथिको महाअभियोग प्रस्ताव र आइ.जी.पी.नियुक्तिको लागि गरिएको नाङ्गो नाचले पहिलो चरणको निर्वाचनमा नेपाली कांग्रेसलाई  दोस्रो स्थानमा सीमित गर्दै गरेको केही राजनीतिक विश्लेषकहरुको बुझाई छ । राजनीतिक दलहरुले उम्मेदवार छनोट प्रक्रियामा नेतृत्वको हस्तक्षेपलाई नै सर्वोपरि ठान्ने परीपाटीले पनि सही उम्मेदवार छनोट हुन नसक्दा निर्वाचनमा हार बेहोर्ने गरेका छन् । ‘राम्राभन्दा हाम्रा मान्छे’लाई बढी महत्व दिंदा विशेष गरी नेपाली कांग्रेसले चुनावमा ठूलो क्षति बेहोर्दै आइरहेको छ ।  चुनावी तालमेलको नाममा आफ्नो राम्रो प्रभाव भएको महानगर तथा गाउँ नगरपालिकाहरुमा माओवादी केन्द्रका उम्मेदवारलाई आफ्नो उम्मेदवारको रुपमा प्रस्तुत गर्नाले कांग्रेसको नेतृत्वप्रति आम कार्यकर्ताहरु रुष्ट देखिए । फलस्वरुप अधिकांश स्थानमा कांग्रेसले क्षति बेहोर्नु प¥यो ।

तेस्रो दलको हैसियतमा रहेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाएदेखि नेपाली कांग्रेसको नेतृत्व प्रचण्डकै एजेण्डामा चलिरहेको भन्ने आरोप कांग्रेसकै ठूलो पंक्तिले लगाउँदै आएको थियो । जसको प्रभाव स्थानीय चुनावको प्रारम्भिक नतिजाले पुष्ट्याएको छ । स्थानीय तहमा माओवादीको साख बचाउन कांग्रेससँगको गठबन्धन निकै फलदायी देखिएको छ । प्रारम्भिक नतिजा अनुसार आफू तेस्रो दलकै हैसियतमा कायम रहन सकेकोमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सन्तोष व्यक्त गर्नुले पनि पुष्टि हुन्छ कि माओवादी केन्द्रले अहिले प्राप्त गरेको परिणामको अपेक्षा गरेको थिएन ।

स्थानीय तहको चुनावमा देशव्यापी रुपमा आफ्नो एकलौटी जित हासिल हुन्छ भन्ने एमाले नेतृत्वको दम्भ पनि तोडिएको छ । तथापि पहिलो चरणको निर्वाचनमा पहिलो दलको रुपमा आफूलाई स्थापित गर्न एमाले सफल देखिएको छ तर यो  सफलता दोस्रो चरणको निर्वाचनमा कायम रहने सम्भावना कम देखिन्छ । संविधान संशोधनको विषयमा एमालेले राख्दै आएको असहमतिप्रति मधेसी जनताहरु आक्रोसित हुनु जसको प्रत्यक्ष प्रभाव दोस्रो चरणको स्थानीय चुनावमा देखिने प्रबल सम्भावना छ ।

पहिलो चरणको स्थानीय चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टीले नराम्रो तरिकाले हार बेहोरेको देखिन्छ । संविधानसभाको चुनावमा चौथो दलको हैसियत कायम गर्न सफल रा.प्र.पा.ले स्थानीय चुनावको प्रारम्भिक नतिजा अनुसार पूर्व हैसियत कायम राख्न नसकेको देखियो । विभिन्न चरणमा फुट्दै र जुट्दै आउको रा.प्र.पा.प्रति जनविश्वास घट्दै जान थालेको हो कि भन्ने विश्लेषण पहिलो चरणको स्थानीय चुनावको परिणामबाट गर्न सकिन्छ । मुलुकले हिन्दू राज्य कायम गर्नुपर्छ भन्ने एजेण्डा बोकेर हिंडेकै कारण संविधानसभाको चुनावमा राप्रपाले बलियो जित हात पारेको थियो तर पछिल्लो चरणमा सत्ता प्राप्तिको लागि आफ्ना एजेण्डाहरु बिर्सदै जानु र राजसंस्थाको वकालत गर्दै हिंड्नुले पनि जनविश्वास गुमाउँदै गएको हो कि भन्ने विश्लेषण पनि छ । अधिकांश नेपाली जनताले रुचाएको संघीयता विरोधी एजेण्डा बोकेर हिंडेको राष्ट्रिय जनमोर्चाले पनि स्थानीय चुनावमा आफ्नो हैसियत बढाउन सकेको देखिएन । राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति अनुसार आफ्नो पार्टीलाई रुपान्तरण गर्न नसकेकै कारण जतिसुकै जनप्रिय एजेण्डा बोकेर हिंडे पनि जनमोर्चाले अपेक्षाकृत नतिजा हासिल गर्न सकिरहेको छैन । एकीकृत माओवादीबाट अलग्गिएर गठन भएको नयाँ शक्ति नेपाल पार्टीको पनि पहिलो चरणको स्थानीय चुनावमा खासै उपस्थिति देखिएन । जुन रुपमा नयाँ शक्ति पार्टीको चर्चा परिचर्चा गरिएको थियो त्यो अनुसार चुनावी परिणाममा नयाँ शक्ति पार्टी निकै कमजोर देखियो ।

काठमाडौं महानगरपालिकाको प्रारम्भिक चुनावी परिणामलाई हेर्दा भने नेपाली राजनीतिमा नौलो अभ्यासको थालनी भएको छ । नेपाली जनताहरु परम्परागत साेंचबाट बाहिर जान सक्दैनन् भन्ने ठूला पार्टीहरुको दम्भलाई भर्खरै अस्तित्वमा आउनु खोजेका नयाँ पार्टीहरुले कडा चुनौती दिन थालेको देखियो । भर्खरै खुलेका पार्टीप्रति जनताको आकर्षण भन्दा पनि पुराना  दलहरुप्रतिको वितृष्णाको फलस्वरुप नयाँ दलको प्रतिनिधित्व गरेका काठमाडौं महानगरपालिकाका मेयरका उमेदवार रन्जु  दर्शना र किशोर थापाले ठूला पार्टीहरुलाई कडा चुनौती दिन थालेका छन् । नेपालमा वैकल्पिक राजनीतिक शक्तिको प्रतीक्षामा जनताहरु हुन् भन्ने कुरा काठमाडौं महानगरपालिकाको प्रारम्भिक मत परिणामले देखाउँछ । ठूला दलहरुले युवाको नेतृत्व र अस्तित्व स्वीकार्नु पर्छ । विषय विज्ञहरुलाई सम्मान गर्न सिक्नुपर्छ भन्ने शिक्षा रन्जु दर्शना र किशोर थापा जस्ता सशक्त उमेदवारले प्राप्त गरेको मत परिणामबाट शिक्षा लिन सकियो भने आफ्नो अस्तित्व बचाइ राख्न सक्लान् । होइनभने अबको युवा शक्ति र विषय विज्ञता हासिल गरेका व्यक्तिको समुहले वैकल्पिक बाटोमा हिंड्न तैयार हुनेछन् ।

स्थानीय चुनावको पहिलो चरणको मत परिणामबार शिक्षा लिंदै दोस्रो चरणको निर्वाचनमा उम्मेदवार छनोटको विषय प्रति गम्भीर हुँदै ‘हाम्राभन्दा राम्रा मान्छे’को खोजी गरेर चुनावी प्रतिस्पर्धामा अग्रसर भएमा जनताले अझै पनि पुराना दलहरुलाई नै पच्छ्याउने हुन होइन भने पद र शक्तिको लागि जस्तोसुकै गठबन्धन गरेर चुनावी मैदानमा उत्रिए पनि जनताले गतिलो जवाफ दिने छन् । चुनाव भनेको आफ्नो हैसियत देखाउने अवसर हो । त्यसैले विभिन्न दलहरुले एक्लै चुनावी मैदानमा उत्रने हिम्मत देखाउन सक्नुपर्छ पहिलो चरणको स्थानीय चुनावको मत परिणामले पनि यही सन्देश दिएको छ ।


(लेखकः राजनीतिक विश्लेषक हुन् ।)

प्रतिकृया दिनुहोस