सम्पादकीय

लोकतन्त्रमाथिको हमला



भरतपुर महानगरपालिकाको मतगणना करिव एक वडाको मात्र बांकी थियो । एउटा वडाको गनेर अन्तिममा पुगेको थियो । त्यतिवेलै छापामार शैलीमा मतपत्र च्यातियो । एमाले भन्छ माओवादी केन्द्रले च्यात्यो , माओवादी केन्द्र भन्छ एमालेले च्यात्यो , प्रशासन भन्छ मतपत्र च्यातेको आरोपमा पक्राउ पर्ने माओवादी केन्द्रका प्रतिनिधि हुन् । आरोप प्रत्यारोप जारी छ । अन्तत छानविन समिति गठन गरि मतगणना १७ सम्मलाई रोकिएको छ । यो घटना देशका लागि, लोकतन्त्रका लागि लज्जाको विषय हो । कसैको जय र पराजयको आतंककै कारण यो घटना घटाईएकोमा सन्देह छैन् चाहे त्यो एमालेले होस या माओवादी केन्द्रले नै किन नहोस ।

चुनावमा हारजित टारेर नटर्ने विषय हुन् । यो शास्वत नियम पनि हो । एउटा हार्नेपर्छ ,एउटाले जित्नका लागि । भरतपूर महानगरपालिकाको चुनाव विशेषत प्रधानमन्त्री पुत्री रेणु दाहालको उम्मेदवारीले अनि माओवादी केन्द्रको कांग्रेसंग भएको चुनावी तालमेलका कारण चर्चामा थियो । अनि एमाले एक्लै सिंगो दुई सत्ताधारी दलकाविरुद्व प्रतिद्वन्दीका रुपमा मैदानमा थियो । दुई दलविचको तालमेल हुदा पनि चुनाव रेणु दाहालको पक्षमा देखिदैन्थ्यो । मतान्तर कम हुदै गएको थियो तर अगाडि एमालेका देवी ज्ञवाली नै थिए ।

सोमबार विहानसम्म परिणाम सार्वजनिक होलाकी भनेको मध्यरातमा इतिहास नै लज्जित हुनेगरि भरतपुरमा मतपत्र च्यातियो र आज एकले अर्कालाई आरोप लगाउदै भनिरहेका छन् , हामी जित सुनिश्चित देखेर मतपत्र च्यातियो । हारलाई स्विकार्न सामाथ्र्य नभएका आततायी मानसिकतावाट ग्रसितले घटाएको यो घटनाको जति निन्दा गरेपनि कम हुन्छ । लोकतन्त्रलाई आफ्नो पेवा ठान्ने , लोकतन्त्रलाई बोल्ने विषय बनाएर जनतालाई ढाट्ने जनाधार नभएका समूहको चर्तिकला हो भरतपुर काण्ड हो । यस्ता काम जहिलेसम्म हुनेछन् , त्यतिवेला सम्म लोकतन्त्रको प्राण , लोकतन्त्रको अस्तित्वमाथि खतरा भइरहन्छ ।  यस्ता खलनायकी प्रवृतिका विरुद्वमा जनताले जनमतले नै किनारा लगाउनुपर्छ ।

प्रतिकृया दिनुहोस