देश

प्रतिपक्षी दलले कमजोर त्यान्द्रा समाए : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बामगठबन्धनलाई जनताले बहुमत दिएकाले संसदमा कमजोर रुपमा प्रस्तुत हुन नहुने बताएका छन् । प्रधानमन्त्री ओलीले चिकित्सा शिक्षा विधयक, गोविन्द केसी, उपकुलपति जस्ता बिषयमा साँसदहरुलाई अडानका साथ कुरा राख्न आग्रह गरे ।

नेपाल कम्यूनिष्ट पार्टीको संसदीय दलको बैठकलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिपक्षी दलले कमजोर त्यान्द्रा समाएर आन्दोलन गर्न खोजेको बताए । उनले भने, “पार्टीले निर्वाचनमा उठाएका कुरा सरकारका नीति तथा कार्यक्रम मार्फत लागु गर्छ । यसमा आत्तिनुपर्दैन ।”

प्रधानमन्त्री ओलीले गोविन्द केसीको अनसनप्रति इंगित गर्दै कसैलाई उक्साएर जुम्लामा भोकै सुत्न लगाएर काठमाडौंका सडकमा केही मान्छे कराइरहेको बताए । बेमौसममा कराउनेहरु केही दिनपछि आफैं चुप लाग्ने ओलीको भनाई थियो । ओलीले बैठकमा व्यंग्यात्मक शैलीमा भने, “अरु चाँही साउनको सिस्नु जस्तो फस्टाउने अनि हामी चाँही ओइलाउने हुन्छ ?”

काठमाडौंमा १० वर्ष मेडिकल कलेज खोल्न नपाउने, एउटा विश्व विद्यालयले पाँचवटा भन्दा बढी कलेजलाई सम्बन्धन नदिने जस्ता कुरा व्यवहारिक नभएको प्रधानमन्त्री ओलीको दावी थियो । “कहाँ कुन बिषयमा कति वटा कलेज आवश्यक छ भन्ने बारेमा अध्ययन गरौं अनि आवश्यकताअनुसार कलेजलाई सम्बन्धन दिऔं,” प्रधानमन्त्री ओलीले बैठकमा भने ।

प्रतिकृया दिनुहोस