सम्पादकीय

राम्रोलाई राम्रो भनौं

नेपाली कांग्रेस निर्वाचनमा नराम्ररी पराजित भएपछि पार्टी भित्र निकै ठूलो भुकम्प आयो । कार्यकर्ता निराश हुन पुगे । यसपछि पार्टीभित्र नेतृत्व तह सुधार्नुपर्ने, परिवर्तन गर्नुपर्ने लगायतका कुरा आए ।

पार्टीको विवाद समाधानकै लागि हेटौंडामा भर्खरै जिल्ला सभापतीहरुको भेला सकियो । भेला आयोजना गर्ने पार्टीकै केन्द्रिय निर्णय पनि हो । भेलाले हेटौंडा घोषणपत्र जारी पनि गरेको छ । सभापति भेलामा सबै उपस्थित त भए तर के कस्ता कुरा त्यहाँ उठाउने भनेर कसैले पनि जिल्लाका स्थानीय तहमा पुगेर राय सल्लाह लिएनन् ।

के अब पार्टी सुध्रिएला त ? भन्ने प्रश्न आम कांग्रेसी माझमा छ । चुनावी असफलता केलाउन विभिन्न तरीकाबाट भएका प्रयासले सार्थक मोड पाएको छैन भने नेताहरु एक अर्कालाई दोष थोपर्न नै व्यस्त छन् । उनीहरु आरोप लगाईरहेका छन् । कोहि पार्टीको स्थानीय तहको संरचना परिवर्तन गर्नुपर्छ भन्नेमा छन् भने कोहि केन्द्रिय नेतृत्व नै फेरौं भन्नेमा छन् ।

हारेपछि बहाना बनाउँदै अरुमा दोष थोपर्ने पराजित हुने प्राय सबैको बानी नै हुन्छ । कांग्रेस अहिले यहि रोगबाट ग्रसित छ । कोहि पनि नेता कांग्रेस बनेर चिन्तन गरिरहेका छैनन् । एक अर्काको कमी कमजोरी खोतल्न मात्र लागिरहेका छन् । जसले गर्दा संघिय संसदमा तथा प्रदेशमा प्रतिपक्षको भूमिका कमजोर बन्न पुगेको छ ।

प्रतिपक्ष कमजोर भयो भने सत्तापक्षको हालीमुहाली धेरै बढ्छ । गलत निर्णयहरु हुन सक्छ । त्यसैले अहिले नेपाली कांग्रेस धेरै संवेदनशील हुनु जरुरी छ । सत्तापक्षले गरेका राम्रा कामको खुलेर प्रशंसा गरेर त्यसलाई कार्यान्वयन गर्न मद्दत गरेर जनविश्वास जित्न सक्नुपर्छ । आम जनतालाई राम्रो हुन कामको विरोधमा उत्रियो भने त्यसले झन् लोकप्रियतामा आँच आउँछ ।

अहिले विभिन्न प्रदेशमा बजेटको चर्चा छ । विकास निर्माणका कुरा छ । यस्तो अवस्थामा राम्रा कामको प्रशंशा गर्दै नराम्रा कामको विरोधमा कांग्रेस सजग भएर लाग्नुपर्ने अवस्था छ । राम्रोलाई राम्रो भनौं ।

प्रतिकृया दिनुहोस