विविध

मातृभूमि बहुउद्देश्यीय सहकारीको ११ औं स्थापना दिवस

बागलुङ । मातृभूमि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बागलुङको ११ औ स्थापना दिवस सम्पन्न भएको छ । सो अवसरमा आयोजित सहकारी शिक्षा कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक रामबहादुर जिसीले सहकारी व्यवसायलाई प्रभावकारी रुपमा अगाडि बढाउनका लागि सदस्यहरुलाई सचेत र सक्रिय बनाउनु पर्नेमा जोड दिए ।

सहकारी संस्था शेयर सदस्यहरु सक्रिय नबनेसम्म सहकारी व्यवसाय प्रभावकारी नहुने भएकाले सदस्यहरुलाई कसरी सक्रिय बनाउन सकिन्छ भन्ने विषयमा सञ्चालकहरु सचेत हुनु पर्ने उनको भनाइ थियो । सहकारी ऐनले सदस्यहरुलाई एउटा विषयको एउटा सहकारी रोज्नु पर्ने व्यवस्था गरेको भन्दै उनले सहकारीका सबै सदस्यले रोज्ने खालको सहकारी बनाउन आवश्यक विषयमा ध्यान दिन आग्रह गरे ।

कार्यक्रममा जेष्ठ शेयर सदस्य टिकाराम सापकोटा, महिला शेयर सदस्यका तर्फबाट बागलुङ नगरपालिका २ का वडा सदस्य निर्मला जिसी पन्त र शेयर सदस्य डिल्लीराम शर्माले मन्तव्य व्यक्त गरे ।  कार्यक्रम संस्थाका अध्यक्ष गुणराज पौड्यालको अध्यक्षता, सचिव रामप्रसाद शर्माको सञ्चालन र शिक्षा उपसमितिका संयोजक टिकाराम सापकोटाको स्वागतमा सम्पन्न भएको थियो ।     

संस्थाका ७० जना शेयर सदस्यको सहभागिता रहेको तालिम कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहकारी व्यवसायलाई प्रभावकारी बनाउन सञ्चालक, शेयर सदस्य र कर्मचारीको भूमिका, वचतको महत्व, कर्जा जोखिम व्यवस्थापन लगायतका विषयमा सहजीकरण गरेका थिए ।

प्रतिकृया दिनुहोस