स्वास्थ्य

थाइराइड रोग : सचेत हुनु जरुरी

काठमाडौं । पछिल्लो समयमा नेपालमा थाइराईड रोगका बारेमा आम मानिसहरु सचेत हुन थालेका छन् । विश्व थाइराइड दिवसका अवसरमा देशमा भएका विभिन्न जनचेतनामूलक कार्यक्रमले पनि यो कुराको पुष्टि गर्छ । घाँटीमा हुने एक प्रकारको ग्रन्थी नै थाइराइड हो । यो रुद्र घन्टीको तल हुन्छ । यसले उत्पादन गर्ने थाइराइड हर्मोनमा गडबढी भयो भने घाँटीमा समस्या आउँछ  । कसैको त ट्युमर नै हुन्छ । यसलाई नै थाइराइड भनिन्छ ।

कहिले यो थाइराइड ग्रन्थीले कम काम गर्छ भने कहिले बढी काम गर्छ । कहिलेकाही त यसको क्यान्सर नै हुन्छ । यदि थाइराइड ग्रन्थीले कम काम गरेको खण्डमा जाडो हुने, अल्छि लाग्ने, जीउ सुन्निने, छालामा समस्या आउने, कब्जियत हुने, गलगाँड आउने, महिनावारी समयमा नहुने लक्षण देखिन्छ ।

यो ग्रन्थीले धेरै काम गरेको खण्डमा भने गर्मी हुने, मुटुको ढुकढुकी बढ्ने, झाडा लाग्ने, निन्द्रा नलाग्ने, हातगोडा काम्ने लक्षण देखिने चिकित्सकहरु बताउँछन् ।
यदि क्यान्सर नै भयो भने गलगाँड दुख्ने, आवाजमा परिवर्तन आउने र खान निल्न कठिन हुने लक्षण देखिन्छ ।  थाइराइड ग्रन्थीको क्यान्सर भएमा अप्रेसन गर्नुपर्छ नत्र भने सामान्य उपचारबाट नै यो रोग निको हुन्छ ।

रोग जुन लागे पनि त्यसले दुःख दिन्छ । त्यसैले सबैले रोग लाग्न नदिन नै सचेतना अपनाउनु जरुरी छ । चिल्ला ड्राइफुट नखाने, धुमपानबाट बच्ने र पोषणका औषधीहरु नखाने, आवश्यक मात्रामा आयोडिन र भिटामिन ए को सेवन गर्ने, बन्दा, काउली जस्ता तरकारीबाट बनेका काँचो सलाद नखाने, सामुद्रिक माछा प्रशस्त खाने, त्यस्तै हरियो पत्तेदार तरकारी र दुग्धजन्य पदार्थमा पनि प्रशस्त आयोडिन पाइने भएकाले यसको सेवन गर्ने, अण्डा, पहेलो पाकेको फलफूल र हरिया सागसब्जी धेरै खाने गर्नाले थाइराइड रोगबाट बच्न सकिन्छ ।

प्रतिकृया दिनुहोस