सम्पादकीय

ओली सरकारको सय दिन

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले १०० दिन पुरा गरेको छ । ओली गत वर्षको फागुन ३ गते प्रधानमन्त्री बनेका थिए । देशले विकास निर्माणका क्षेत्रमा यो सय दिनमा महत्वपूर्ण उपलब्ध हासिल नगरे पनि कम्युनिष्ट पार्टी बीचमा भने एकता भएको छ । जसले गर्दा ओली अहिले एकै दलको बहुमतसहित सरकारमा छन् ।

सरकारले सय दिनमा उल्लेख्य केहि नगरे पनि संकेत भने राम्रो दिएको छ । एउटा महत्वपूर्ण संकेत भनेकै यातायात क्षेत्रमा रहेको सिन्डीकेटको खारेजी पनि हो । सरकारले अब देशका ठेकेदारलाई तह लाउने बताएको छ । देशमा रहेका अगतिला ठेकेदार तह लगाए विकास निर्माणका काममा तिव्रता आउने पक्का छ ।

अनावश्यक खर्च कटौतीमा पनि सरकार चनाखो देखिएको छ । तर सरकारी निवासलाई नीजि जस्तै गरी बालुवाटारमा भोज भत्तेर र रमिता हुनु भनेको यो सरकारको कमजोरी हो । त्यहाँको खर्च कहाँबाट जोहो हुन्छ भन्ने बारेमा कतै केहि खुलेको छैन । सरकारी रकमबाट नै खर्च भएको भए त्यो नराम्रो हो । सुन तस्करी विरुद्धको कारबाही सरकारको अर्को राम्रो काम हो । तर यसमा मुछिएका व्यक्ति र भनिएका अपराधीलाई के कस्तो कारबाही हुन्छ, त्यो हेर्न बाँकी छ ।

मन्त्रीहरुले पनि काम राम्रो गरेका छन् । केहिले हल्ला मात्र पनि गरेका छन् । ओलीले लोकप्रिय काम गर्न मन्त्रीहरुलाई पटक पटक निर्देशन दिँदै आएका छन् । सरकारले देशलाई भ्रष्टाचार मुक्त बनाउने भनेको छ । तर पछिल्लो समयमा जो जो को सम्पती विवरण सार्वजनिक भएको छ । कतिपय अवस्थामा उनीहरु पनि सहि नै थिए त भन्ने प्रश्न पनि उठेको छ ।

भारतीय प्रधानमन्त्रीले नेपाल भ्रमण गर्नु सरकारको अर्को सफलता मान्न सकिन्छ । तर नाकाबन्दीले पोलेको घाउ नबिर्सिएका नेपाली जनतालाई त्यो भ्रमणले भने खासै राहत दिएको अनुभूति छैन ।

जे होस् बजेट आउन बाँकी छ । त्यसले जनतालाई राहत देओस् । सबैले विकासको अनुभूति गरुन् । कम्तीमा एक वर्ष वितेपछि यो सरकारले जनताको पक्षमा कति काम गर्छ भन्ने कुराको मुल्यांकन गर्नु बेस होला ।

प्रतिकृया दिनुहोस