सम्पादकीय

सञ्जालको हल्ला

कहिलेकाही लाग्छ, नेपाल हल्लै हल्ला गर्नेहरुले भरिएको देश हो । यहाँ हल्ला गर्नेहरु र त्यसको पछि लाग्नेहरुको कमी छैन । कुनै एउटा सानो कुरालाई एउटा हल्लाको विषय बनायो भने त्यसले पुरै देश तात्छ । त्यसको पछि लाग्नेहरु पनि कुरो बुझ्दैनन् । आ-आफ्नो अडानसहितको विचार राखेर झन् हल्ला गर्ने तर्फ लाग्छन् ।

कागले कान लग्यो भन्दैमा कागको पछि लाग्नु हुँदैन भन्ने ज्ञान आजका आधुनिक युगका कसैमा पनि छैन । नचाहिँदो हल्लाको पछि लाग्दा त्यसले सामाजिक सद्भाव नै बिग्रने डर हुन्छ । हल्ला फिँजाउन माहिर मान्छेहरु तथ्य र विचार बंग्याएर जनमानसमा गलत अफवाह फैलाउन सक्रिय छन् ।

पछिल्लो समयमा निकै चर्चामा रहेको सामाजिक सञ्जाल फेसबुक, ट्वीटर लगायतमा एकले अर्काको मर्म र धारणा विपरित हल्ला फैलाउनेहरु भेटिन थालेका छन् । जसले गर्दा समाजमा एक जात र अर्को जात, एक धर्म र अर्को धर्म अर्थात् समुदाय समुदायबीचमा फाटो आउने सम्भावना देखिएको छ । यो निकै गलत हो ।

सामाजिक सञ्जाल निकै संवेदनशील छ । यसमा नियन्त्रण गर्न सरकारले पनि सकेको छैन । त्यसैले यो अनियन्त्रित सञ्जालको पछि लागेर सामाजिक सद्भाव नबिगारौं । सामाजिक सञ्जाललाई सचेतना फैलाउने कार्यका लागि प्रयोग गरौं, हल्ला गर्नका लागि होइन ।

प्रतिकृया दिनुहोस