सम्पादकीय

एयरपोर्टको अध्याँरो दिन

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएको यूएस बंगला विमान दुर्घटना दुःखद मात्र नभएर नेपालकै प्रतिष्ठाको विषय बनेको छ किनभने यो दुर्घटना नेपालमा भएको अहिलेसम्मकै ठूलो अन्तराष्ट्रिय विमान दुर्घटना हो । नेपाली आकाश असुरक्षित छ भन्ने कुरा विश्वमा फैलिरहेकै बेला भएको यो दुर्घटनाले उडान क्षेत्रमा त्रास त छँदै छ, यसको साथमा उडान इतिहासमा एउटा अर्को कालो दिन थपिएको छ ।

अहिले दुर्घटनाका कारणबारे विभिन्न तर्कहरु प्रचारमा आएका छन् । पाइलट र एयरपोर्टबीच भएको कुराकानीको अडियो सार्वजनिक भएपछि यसले पनि सबैलाई सोच्न बाध्य बनायो । दुर्घटनाको छानबिन समिति बनेको छ । अब पाइलटको गल्तीले दुर्घटना भयो, विमानमा खराबीले गर्दा दुर्घटना भयो वा विमानस्थलसँगको समन्वय अभावले दुर्घटना भयो भन्ने कुराको तथ्य कुरा छानबिन समितिले बाहिर ल्याउनेछ ।

विमान दुर्घटनामा कसैको जीवन मात्र गुमेन, उनीहरुको परिवारको सपना र संसार नै उजाडियो । नामको अगाडी डाक्टर थप्न गएका नेपालीको अगाडी स्वर्गिय भन्ने थपियो । नेपालको हिमाल हेर्न आएका विदेशी पर्यटकले नेपाली भूमिमा टेक्ने बित्तिकै ज्यान गुमाए । अब एयरपोर्टको यो अँध्यारो दिनलाई बिर्सन धेरै समय लाग्छ ।

सम्झिए मात्र पनि आँखा रसाउने यो दुर्घटनाले त्रिभुवन विमानस्थलले सुधार गर्नुपर्ने पक्षमा बारेमा पनि एकपटक फेरी झस्काएको छ । दुर्घटना हुनासाथ वारुणयन्त्र नपुगेको केहिले गुनासो गरे, सम्बन्धित निकायले समयमै पुगेको दाबी गरे । ३ मिनेटमै बारुणयन्त्र पुगेको भए यति धेरै मानवीय क्षति नहुने तर्क पनि एकथरीको छ । नेपाली सेनाको सक्रियताले पनि केहिको ज्यान बचेको छ । दुर्घटनापछि तुरुन्त उद्धारमा पुग्न नसक्नु विडम्बना हो । अबको ध्यान घाइतेको उपचार, दुर्घटनाको निष्पक्ष छानबिन र विमानस्थलको अवस्था सुधारमा लाग्नुमा केन्द्रित हुनुपर्छ, एकले अर्कामा दोष थोपर्नेमा होइन ।

प्रतिकृया दिनुहोस