सम्पादकीय

सरकारमा सकस

कुरा मिलाउनु सबैभन्दा कठिन काम हो । अझ शक्तिसँग जोडिएका विषयमा कुरा मिलाउनु त झनै मुस्किल हुन्छ । अहिलेको नवगठित सरकार यस्तै कुरामा अल्झिएको छ ।

पार्टी एकिकरण, पार्टीभित्रको शक्ति सन्तुलन, सरकार गठन र यसभित्रका शक्ति सन्तुलन वर्तमान सरकारको नेतृत्वकर्ता एमाले अध्यक्ष केपी ओलीका लागि निकै चुनौतीपूर्ण काम हुन् ।

एकताको खाका तयार गर्दै एकिकरण सुनिश्चित भइसकेको अवस्थामा गठबन्धनलाई जोगाई राख्नु सकसपूर्ण नै छ । कतिपय अवस्थामा सन्तुष्टि भित्रका असन्तुष्टि पनि छन् ।

सरकारमा बाम गठबन्धनको बलियो पकड छ । मिलनको यात्रा निरन्तर रहेमा अर्को चुनाव नभईन्जेल सरकारलाई कसैले हल्लाउन सक्दैन । यो बलियोपना रहँदा त्यहाँ स्वार्थ, स्वेच्छाचारी निर्णय नआउला भन्न सकिँदैन । यदि यस्तो भयो भने त्यो मुलुक र जनताका लागि अवश्य नै हितकर भने हुँदैन ।

अहिले एकता प्रक्रिया चलिरहँदा केहि नेताहरुको अभिव्यक्ति शंकास्पद पनि आइरहेका छन् । नेतृत्व तहमा पुग्ने लोभ र लालचा सबैमा देखिएकै छ । राजनीतिमा कति त्याग गर्नुपर्ने हो भन्ने सोच राख्नेहरु पनि छन् । यदि यी सोच भएका व्यक्ति तथा नेताहरुको संख्या बढ्दै गयो भने सरकारमा सकस पक्कै आउँछ ।

प्रतिकृया दिनुहोस