अन्तर्वार्ता

फेसबुकमा धेरै फ्रेन्ड रिक्वेष्ट केटीहरुको आउँछ : टंक बुढाथोकी, गायक/संगीतकार

चलचित्र शत्रु गतेको रुपै मोहनी गीत अहिले चर्चामा छ । यसका गायक तथा संगीतकार टंक बुढाथोकी पनि चर्चामा छन् । पछिल्लो समयमा नेपाली चलचित्रमा लोक शैलीका राम्रा गीतसंगीत आउने क्रमको एउटा गीत हो-रुपै मोहनी । यो गीत र अन्य समग्र गीतसंगीतका बारेमा क्लासिक एफएम १०१.२ मेगाहर्जमा प्रत्येक बिहिबार बिहान ११ बजे प्रसारण हुने कार्यक्रम हाउसफुलमा पुरुषोत्तम बस्नेतले टंक बुढाथोकीसँग गरेको कुराकानीका केहि अंशहरुः

रुपै मोहनी गीत छक्का पञ्जा ३ का लागि बनाइएको गीत थियो । तर किन शत्रु गतेमा राखियो ?
मैले छक्का पञ्जा २ को एउटा प्रमोसन गीत गरेको थिएँ । दशैसँग सम्बन्धित थियो त्यो । सररर हुई, दशैमा छक्का पञ्जा दुई भनेर छोटो गीत बनाएको थिएँ । यो गीत गर्ने क्रममा छक्का पञ्जाको टिमसँग नजिकिने मौका पाएँ । त्यसले गर्दा छक्का पञ्जा ३ बन्दैछ भनेपछि मैले मेरो क्रियसन दिपक दाईहरुलाई सुनाएको थिएँ । तर पछि उहाँहरुले यो गीत शत्रु गतेमा राख्ने कुरा गर्नुभएको थियो ।

शत्रु गतेका पुरै टिम नै आएर यो गीत  छानिएको हो वा दिपक दिपाकै भनाईमा राखिएको हो ?
सुरुमा चैं ट्युन पठाएको थिएँ । उहाँहरु शत्रु गतेको कामको क्रममा नै हुनुहुन्थ्यो । त्यो उहाँहरुले सुनाउनुभएछ । अनि ट्युन मन परेपछि बाँकी काम भने शत्रु गते टिमबाट नै भएको हो । ट्युनमा शब्द भर्ने कामहरु त्यसपछि भएको हो ।

चलचित्रको गीत त त्यसको कथा अनुसार तयार गर्नुपर्छ भनिन्छ । तर तपाईले यसको धुन पहिले नै तयार गर्नुभएको रहेछ । के रस चलेको थियो तपाईलाई यसको धुन सिर्जना गर्ने ?
हामी कमर्सियल रुपमा काम गर्दा हात बाँधेर बस्ने भन्दा पनि सिर्जनामा नै लागिरहेका हुन्छौं । यसो हुँदा मार्केटमा कस्तो चलिरहेको छ, के गर्दा राम्रो हुन्छ भन्ने कुरा सोचिरहेका हुन्छौं । अहिले लोक शैलीका गीतहरु रुचाईएको छ । यस्तै एउटा धुन निकाल्ने मेरो प्रयास हो । मसँग अहिले पनि झन्डै ३ सय धुनहरु स्टक छन् ।

तपाईले स्टक गर्दा अरुले पनि त स्टक गरेका हुन्छन् होला नि ? धुन मिल्ला नि फेरी ?
हुन्छ अरुले पनि गर्ने यस्तै हो । प्रेसरमा काम गर्नुभन्दा फुर्सदका बेला सिर्जना गरिराख्यो भने काम लाग्न सक्छ भन्ने हो । कहिलेकाहि मिल्न सक्छ तर व्यवसायिक रुपमा काम गर्दा मिल्दैन जस्तो मलाई लाग्छ ।

रुपै मोहनीको पनि धुन अन्तै मिल्यो भन्छन् नि त ?
लोक शैलीको गीत हो । कलर मिल्न सक्छ । तर हुबहु मिलेको छैन । यदि मिलेको भए ती श्रष्टाहरुले पनि केहि बोल्नुपर्ने हो । त्यस्तो भएको छैन । मसँग रिसइबी लिनेहरुले पोखेको तितो हो त्यो । पुरै गीत मिलेको भए त शत्रु गते जस्तो टिमका हस्तीहरुले त राख्नु हुन्नँ थियो होला नि । लोक भाका भनेको जसले नि संकलन गर्न सक्ने कुरा हो । तर म्युजिकल्ली कुनै गीतसँग हुबहु मिल्न जाँदैन ।

मैले यो कुरा बहस चलेकाले उठाएको हुँ । तपाइसँग रिसइबी भएर चैं होइन है ?
होइन, होइन तपाइले कुरा उठाउनुभयो, राम्रो भयो । मलाई यो विषयमा बोल्नु पनि त थियो नि ।

शत्रु गतेसँग मह जोडीको नाम भएपछि यस्ता विवादहरु नउठाइएको हो कि भन्ने पनि अलि अलि सुनिन्छ नि ?
त्यस्तो कुरा त एक प्रतिशत पनि होइन । म्युजिकमा दिग्गज भएकाहरुसँग पनि म यो बारेमा बहस गर्न सक्छु । कतै पनि मिल्दैन, केहि कलर आएको हुन सक्छ ।

तपाई आँफै पनि सबै कुरा गर्न सक्ने मान्छे, गाउने काम चैं गर्नुभयो । तर शब्द लेख्न अरुलाई दिनुभएछ नि त ?
मलाई लोक शब्दको बारेमा त्यति थाहा पनि छैन । त्यसैले लोकराज जीले लेख्नुभयो । सबै मैले गर्नुभन्दा अरुले गर्दा झन् राम्रो निस्किन्छ कि भनेर हो ।

अनि किन गाउनुभएको त, अरुलाई दिएको भए हुन्थ्यो नि ?
निर्माण पक्षले नि मलाई गाउनु भन्नुभो, त्यसैले गाएको हुँ ।



अहिलेको गीतको प्रचार सफलता आशा गरिएको थियो ?
थिएन, यति धेरै चर्चा पाइएला जस्तो लागेको थिएन । जुन टिमले काम गर्दैछ, त्यसले सफलता पाउँछ भन्ने त थियो । तर यो मेरा लागि चैं नसोचेको सफलता नै हो ।

गीतको सिर्जना जुन ढंगले गर्नुहुन्छ, सबै गीतमा छाँयांकन त्यस्तै बनेर आएको पाउनुभएको छ ?
सबैमा सोचेजस्तो भएको छ । कुनैमा कम छ, कुनैमा बढी छ । रुपै मोहनीमा सोचेको भन्दा धेरै राम्रो बनेर आएको छ । कस्तो टिममा काम हुन्छ, त्यसमा भर पर्छ । सुरुमा सबैले राम्रो हुन्छ भन्छन् तर वास्तवमा कहिलेकाही आउटपुट त्यस्तो आउँदैन । अडियोमा धेरै मेहनत गरे पनि कहिलेकाही भिज्युल नराम्रो आउँदा खल्लो लाग्छ । दृष्य राम्रो बनाउन एरेन्जर र कम्पोजर तथा कोरियोग्राफर सँगै भयो भने भिडियो राम्रो बन्छ ।

रुपै मोहनीमा पनि त्यस्तै गर्नुभयो ?
यसमा त धेरै मेहनत गरेको छु । मैले १७/१८ दिन त अरुको काम नै गरिनँ । यहि गीतमा ध्यान दिएँ । यसको पनि एरेन्ज गर्नका लागि पहिले अरुलाई नै दिइएको थियो । तर पछि त्यो चित्त नबुझेपछि मैले आँफैले एरेन्ज गरेको हुँ ।

अहिले फेरी चलचित्रलाई चर्चामा ल्याउन गीतले भुमिका खेल्न थालेको हो ?
पक्कै पनि हो । इतिहासमा पनि त्यस्तै थियो । गीतको प्रचार र राम्रो गीत हुँदा चलचित्र हेर्न दर्शक आकर्षित हुन्छन् । गीत राम्रो छ भने चलचित्र नि राम्रो हुन्छ भन्ने विश्वास दर्शकमा छ ।

संगीतमा युवा पुस्ता मौलाउन थालेका हुन् ? पुराना हराएको मान्न सकिन्छ ?
पुराना सर्जक, संगीतकर्मी हराएका भन्न मिल्दैन । उहाँहरु कतै व्यस्त भएको हुनुपर्छ । क्रियसन गर्ने मान्छे कहिल्यै बुढो हुँदैन । तर युवाहरु अहिले बढी छन् । यो सबै समय र संगीतमा आएको परिवर्तन हो भन्नुपर्ला ।

त्यसो भए अहिले प्रतिष्पर्धा युवा पुस्तामा हो ?
प्रतिष्पर्धा नै त भन्नु भएन । फेरी प्रतिष्पर्धा को सँग गर्ने भन्ने पनि हुन्छ । सबैसँग मिलेर काम गर्नुपर्छ । सबैसँग मेरो राम्रो सम्बन्ध छ । हामी भन्दा अग्रज दाईहरुसँग सिकेरै हामी यहाँ आइपुगेका हौं । उहाँहरुसँग प्रतिष्पर्धा भन्दा पनि फरकपना चैं के दिने भनेर सोच्छु । रचना जसको पनि राम्रो हुन सक्छ ।

एउटै चलचित्रमा धेरै संगीतकार हुन थाले । तपाईलाई एक्लै काम गर्न पाए हुन्थ्यो जस्तो लाग्दैन ?
मलाई त्यस्तो लाग्दैन । बरु एउटा मात्र काम गर्ने, त्यसैलाई राम्रो गर्नुपर्छ भन्ने छ ।

राम्रा आए भने त एउटालाई कुराएर अर्को काम गर्नुहुन्छ होला नि ?
त्यो त गरेको छु । कहिलेकाही पुराना प्रोजेक्टलाई थाती राखेर राम्रो ब्यानर आयो भने नयाँ ब्यानरको काम गरिन्छ । यो प्रायः सबैले गर्छन् ।

मान्छै रुपवान हुनुहुँदो रैछ ? केटीहरु त हुरुक्कै होलान् है ?
त्यति सारो मरिहत्ते त गर्दैनन् । तर फेसबुकमा चैं रिक्वेष्ट केटीहरुको धेरै आउने, म्यासेज धेरै आउने चै हुन्छ । केटासाथीहरु पनि छन् । उहाँहरु सबै मेरा शुभचिन्तकहरु हुनुहुन्छ ।

एल्बममा कतिको काम गरिरहनुभएको छ ?
गरेको छु । मेरो हिट गीत नै सुरुमा एल्बमकै हो । तिमीले बाटो  फेरेउ अरे ... निकै हिट भयो । अहिले शिव परियारको आँसुको अर्थले चर्चा पाइरहेको छ ।

सोलो एल्बम गर्नुभएको छ ?
गरेको छैन । धेरै गीतहरु रेकर्ड भएर थन्किएर बसेका छन् । एउटा गीत सुनायो त्यसले खायो खायो । अर्को गीत सुनायो त्यसले नि खायो खायो भन्छन् । यसरी खायो खायो भनेर रेकर्ड मात्र गरेर बजारमा नआएका गीतहरु पनि छन् । त्यसैले सोलो एल्बम चैं अब गर्दिनँ ।

अहिले स्टेज कार्यक्रमको माहौल छ । तपाईलाई पनि त्यस अफरहरु आएका होलान् नि । अचेल त गायक भन्दा पनि संगीतकार र गायक एकै जना भएकाहरुलाई भ्याई नभ्याई छ रे, हो ?
कार्यक्रमको अफर आएको छ । त्यो स्वाभाविक पनि हो । गीत चर्चामा आएपछि महोत्सव लगायतका अन्य सांगितिक कार्यक्रमहरुमा डिमान्ड हुन्छ नै । तर कतिपयले भने अरुको गीत गाएर नि स्टेज तताइरहेका हुन्छन् । तर दर्शकले भने त्यहाँ ओरिजिनल श्रष्टा नै खोजिरहेका हुन्छन् । रुपै मोहनी गीत तपाईले गाउनुभयो भने पनि दर्शक नाच्छन् । उनीहरु संगीतमा नाच्ने हुन् । तर जो ओरिजिनल गायक हो उ स्वयम् उपस्थित हुनुको रौनक भने अलग्गै हुन्छ । मलाई चैं अरुको गीतमा आफ्नो व्यापार नगरे हुन्थ्यो जस्तो लाग्छ ।

आर्थिक रुपमा तपाईलाई संगीतले कति उठाएको छ ?
व्यवसायीक रुपमा हामी लागेका छौं । यो रहर होइन, व्यवसाय हो । राम्रो काम गर्न सक्ने हो भने संगीत क्षेत्र राम्रो छ । संगीतसँग सम्बन्धित सबैको भविष्य र कमाई संगीतमा छ । तर काम राम्रो गर्नुपर्छ 

 

प्रतिकृया दिनुहोस