सम्पादकीय

बाम सरकारको पर्खाई

बाम गठबन्धनले चुनावमा राम्रो नतिजा हासिल गरेपछि देशले काँचुली फेर्छ भन्ने सोच जनमानसमा छ । उनीहरुले बाम गठबन्धनलाई दिएको मत नै यसै कारण हो । बाराम्बार परिवर्तन हुने सरकारले राम्रो काम गर्न नसकेको तितो भोगाई उनीहरुमा छ । त्यसैले उनीहरुले स्थिर सरकार चाहे र बाम गठबन्धनको पक्षमा मतदान गरे ।

तर पछिल्लो समयमा नेकपा एमाले र माओवादी केन्द्रले नै पार्टी एकिकरण र सरकार गठनमा ढिलाई गर्न थालेको महसुस हुन थालेको छ । एकातिर देउवा सरकारलाई दोष लगाउने तर वास्तविकता भनेको दुवै पार्टी भित्रको आन्तरीक किचलो हो कि भन्ने अड्कल केहिले काट्न थालेका छन् ।

चर्चामा रहेका सबै नेताहरु पार्टीमा कुनै न कुनै भूमिका चाहान्छन् । उनीहरु अस्तित्व गुमाउने पक्षमा छैनन् । त्यसैले त केहि छिटो पार्टी एकिकरण होस् भन्ने पक्षमा छन् भने केहि पार्टी एकिकरण हुन नहुने अडानमा छन् । तर पनि यतिबेला भने देशले कम्युनिष्ट एकता चाहेको छ ।

गुटबन्दीको दलदल दुवै पार्टीमा भएका कारण नि एउटै झन्डा मुनि उभिन समय लाग्नु स्वाभाविक हुन्छ । यो अवस्थामा अब स्थिर सरकार गठन र पार्टी एकढिक्का हुनका लागि दबाब दिने अलग्गै समूह नै चाहिने हो कि जस्तो पनि देखिएको छ ।

सरकार गठनको खेलमा बहुमतको सिक्का धेरै प्रयोग भएको छ । अब यो सिक्का एउटै समूहको भयो भने सरकारले राम्रो गर्न सक्छ भन्ने बुझाई सबैको छ । प्रदेशमा कुन कुन दलले कहाँ नेतृत्व गर्ने भन्ने टुंगो लागेको छ, व्यक्तिको टुंगो लागेको छैन । यसैले पनि बाम गठबन्धन भित्रको नदेखिँदो असन्तुष्टिले पार्टी एकिकरण र सरकार गठन त्यति सहज भने छैन ।

आशा गरौं, देशले निकास पाउनेछ, जनताले विकास पाउनेछन् ।

प्रतिकृया दिनुहोस