सम्पादकीय

चिसोवाट बचौं र बचाउं


मुलुकभर अत्याधिक रुपमा चिसो बढेको छ । अत्याधिक चिसोकै कारण देशमा नौ जना नागरिकले ज्यान गुमाएका छन् । चिसोकै कारण नागरिकलले ज्यान गुमाउनुपर्ने परिस्थिति दुर्भाग्पूर्ण छ । तराईका कतिपय ठाउंमा एक हप्तादेखि घाम देख्न नपाएको नागरिक बताईरहेका छन् । यसले देशभर चिसोवाट जोगिने चिन्ताले नागरिकलाई पिरोलेको छ । चाहे चिसो होस, गर्मी या अन्य कुनै प्राकृतिक विपत्ति त्यसमा जनतालाई सुसुचित गर्ने, सावधानी अपनाउन भन्ने र नागरिकको जिवनरक्षाका लागि हरसम्भव प्रयत्न गर्नु राज्यको मूल दायित्व हो ।

मौसम पूर्वानुमान महाशाखाले पुष २३ आइतवार यो वर्षकै सर्वाधिक चिसो दिन भएको जनाएको छ । महाशाखाका अनुसार विहान काठमाडौंमा शून्य दशमलव ५ डिग्रीमा मापन गरिएको छ । मौसमविद्हरुका अनुसार यो तापक्रम करिव डेढ दशकको सबैभन्दा कम हो । देशभर नै तापक्रम क्रमशः घट्दै गइरहेका बेला मौसमविद्हरुले अझै केही दिन चीसो बढ्दै जाने अनुमान गरेका छन् । पूर्वी र पश्चिम तराइमा पनि जाडो क्रमशः बढेको छ । पश्चिमी वायुको प्रभावले अब केही दिन अझै जाडो बढ्ने सम्भावना रहेको मौसमविद् बताइरहेका छन् । काठमाडौँ उपत्यकामा डेढ दशकपछि यसरी एक्कासी चिसो ह्वात्तै घटेको मौसम पूर्वानुमान महाशाखाको भनाई छ ।

यस्तो विशेष परिस्थितिमा सरकारले चिसोवाट कसरी बच्ने र बचाउने भन्ने सन्दर्भमा ठोस रुपमा लागेको देखिदैन । जाडो न हो भनेर हल्का रुपमा लिने काम राज्यका तर्फवाट भएको देखिन्छ । चिसोकै कारण ९ जना नागरिकको मृत्यु भइसक्दापनि राज्यको उदासिनता भने आपत्तिजनक छ । चिसोवाट वच्नका लागि विद्युत्तिय सामाग्रीको प्रयोगदेखि दाउंरा, गोवरबाट बनाइएका बस्तु उपयोग गर्नका लागि आह्वान गर्नुपर्ने देखिन्छ । शरिरमा ताप उत्पन्न गर्ने खालका खानेकुरादेखि बाल्ने दाउंरा, लगाउने न्यानो कपडा प्रदान राज्यले गर्नुपर्छ । विहान बेलुका कसरी छाक टार्ने अवस्थामा रहेका नागरिकका लागि जाडोमा बाक्लो लुगा किन्ने समेत अवस्था छैन् । यस्तो अवस्थामा राज्यले चिसोवाट बचौ र बचाउं अभियानको प्रारम्भ गर्दै अभाव, गरिबी र अत्याधिक रुपमा चिसो भएका बस्ती बस्तीमा आफ्ना जिल्ला संयन्त्रदेखि केन्द्रवाट समेत पुग्ने प्रबन्ध मिलाउदै सवैमा सहयोगका लागि सार्वजनिक अपिल गरेमा थप नागरिक चिसौकै कारण ज्यान गुमाउने परिस्थिति हुदैन्थ्यो ।

 

प्रतिकृया दिनुहोस