विविध

अपाङग महिलामाथिको हिंसा अन्त्यका लागि एकीकृत प्रयासमा जोड

ललितपुर । राज्यसंयन्त्र देखि गैरसरकारी संस्था, नागरिक समाजका सवै तह र तप्काको एकीकृत प्रयासवाट मात्रै अपाङग महिलामाथिको हिंसाको अन्त्य गर्न सकिनेमा बिहिवार ललितपुरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । अपाङगता भएका महिला हिंसा विरुद्वको सचेतना कार्यक्रममा उनीहरुले सो आवश्यक्ता औल्याएका हुन् ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै नेपाल सरकार महिला तथा बालबालिका मन्त्रालयकी शाखा अधिकृत नीरा अधिकारीले सरकारी तथा गैरसरकारी क्षेत्रवाट एकीकृत प्रयासको थालनी हुन सकेमा मात्र समग्र महिला एवं अपाङग महिलामाथिको हुने हिंसाको अन्त्य गर्न सकिने बताईन । अपाङग महिलामाथि मनोवैज्ञानिक, आर्थिक, सामाजिक लगायत विभिन्न प्रकारका हिंसा हुने गरेको उनको धारणा थियो । शिक्षा र जनचेतनाको कमीका कारण नै यस्ता हिंसा हुने गरेको उनले उल्लेख गरिन । कार्यक्रममा कार्यपत्र प्रस्तोता नीरा अधिकारीको कार्यपत्रमाथि टिप्पणी गर्दै  एड्राड नेपालका अध्यक्ष डा विरेन्द्रराज पोखरेलले अपाङग महिलामाथिको हिंसाविरुद्वको न्यायका महिला हिंसा विरुद्वको कानून पनि पर्याप्त नभएको तर्क राखे । पोखरेलले अपाङग महिलामाथिको हिंसा रोक्नका लागि घरपरिवार, समाज र सरकारले सामाजिक न्याय दिन सक्नुपर्ने बताए । हिंसाको प्रतिरोधका लागि अपाङग्ता भएका महिला आफैले पनि आत्मबल बढाउन सक्नुपर्ने उनको धारणा थियो । पाखरेलले कानून मात्र भएर भन्दा पनि त्यसको कार्यान्वयन अझ बढि महत्वपूर्ण हुने बताए ।

नेपाल प्रहरीको महिला बालबालिलाका तथा सेवा निर्देशनालयकी प्रहरी निरिक्षक लक्ष्मी खनालले पनि महिलामाथि हुने विविध प्रकारका हिंसावारे कार्यपत्र प्रस्तुत गरेकी थिईन भने उनको कार्यपत्रमाथि नेपाल नेत्रहिन महिला संघकी कानूनी सल्लाहाकार सम्झना पोखरेलले टिप्पणी गरेकी थिईन । कार्यक्रममै रोटरी क्लव अफ जावलाखेलकी अध्यक्ष शारदा आर्चाय पोखरेलले अपाङग् महिलामाथिको हिंसा विरुद्वको अभियानमा रोटरी सदैव सहकार्यमा रहने बताईन । बलाइन्ड रक्सकी सृष्टि केसीले दृष्टिबिहिन हुदैमा जिवन सकिएको भनेर हिनताबोध नपाल्न आग्रह गरिन । उनले अभावलाई अवसरमा बदल्न अपिल गरिन । उक्त कार्यक्रम रोटरी ग्लोबल,रोटरी क्लव अफ जावलाखेल,एड्राड नेपाल, एबिलिस फाउण्डेशन, नेत्रहिन महिला संघ नेपाल र फ्यूचर स्टार्स हाइस्कूलले संयुक्त रुपमा आयोजना गरेका थिए । सचेतना कार्यक्रमको अध्यक्षता नेत्रहिन महिला सघ नेपालकी अध्यक्ष सीता सुवेदीले गरेकी थिईन ।

 

प्रतिकृया दिनुहोस