साहित्य

म फर्कि आउंछु प्रिय

अम्बिका गुरुङ
म शान्त छु
मौन छु
शान्त र मौन भएर
उभिइरहेको छु अझै
संस्कार र संस्कृतिको
कारागारमा
नेपाली र अंग्रेजीको
केन्द्रबिन्दुमा उभिएर
म अझै तिमीलाई
सलामी दिइरहेको छु ।

मेरो नेपाल तिमी
मेरो पुर्खाको धरोहर हौ
अहिले तिमीलाई
म टाढाबाट हेरिरहेको छु
मेरो सानो विदेशी कोठाको
मौनता भित्र आफुलाई कैद गरेर
परिणत भएको देख्दिन कुनै
आशा लाग्दा कुराहरु
जताततै बलेको देख्छु
आगोको लाप्साहरु
जताततै जलेर
धूवाँ निस्किरहेको देख्छु ।।

अब बिस्तारै–बिस्तारै
मेरो बुढो शरिर
मेरै अगाडि उभिरहेको छ
दिनदिनै खिइएर जादै छ
हलोको फाली झैँ
मलाई अनायासै
याद आइरहेछ तिम्रो
तिम्रो माटोले
बोलाइरहेको जस्तो भान हुन्छ
तर यो जिर्ण शरीर
शान्त छ, स्थिर छ
चल्ने आँट आउदैन ।

थुप्रै बाध्यताले बलियागरि
जक्डिएको छु म
वरिपरि ठूल्ठूला चट्टानहरुले
घेरेको जस्तो
आँट गरेर हिंडू भने पनि
मेरो पाइला डग्मगाउँछ
तर म कत्ति पनि निराश छैन
बलियो इरादा बनाएको छु ।।

यो जिर्ण शरीर र
थरथराईरहेका हात गोडा
अझै यो पराईभुमिमा
रगटी रहेको छु
के गर्नु आफुलाई
भास्सिएको भगौटे जस्तो लाग्छ
तर म मजबुर छु ।

तिम्रो यादलाई हरपल
मनमा बसाई राख्छु
तिम्रो भूगोलको परिधिले
मलाई बाँधीराखेको छ
तिम्रो र मेरो बिचका
सीमा रेखाहरु
धेरै टाढा भए पनि
तिम्रो यादले तिम्रो र मेरो
सिमा नाजिकिएको छ ।।

सबभन्दा पहिला याद
तिम्रो आउछ मलाई
सबभन्दा सच्चा जहाँ
मुटुको ढुकढुकीमा हुन्छ
जहिले पनि म
तिमीसँग हुन्छु
तिम्रो हरेक लडाइमा
म सामेल भएको छु
तिम्रो हर दुखमा
म रोएको छु
आँशु संगसंगै
झरेको पीडाहरु
मुटुको धुकधुकीसंगै
हिडेको सम्झनाहरु
म फर्की आउंछु भनि
मिठो बोली संगसंगै
चिप्लेका कसमहरु
सम्झेर सम्झी नसक्ने
तिमिसंग बिताएका पलहरु ।।

कसरी यो मन फसेछ
विदेशी भूमिमा
किन कि उसले देखायो
सुख मेरो आँखामा
म फसे झुटको पर्दामा
प्रत्येक पल पशुपतिनाथलाई
नसम्झेको हैन ।।

हर बार स्वयम्भूको आँखालाई
मनको आँखाले नहेरेको हैन
आँसु उर्लिएर आउछ सम्झन्दा
हरपल घन्टाघर धरहरा वरिपरि
हुन्छ मेरो मन
अशनको गल्ली गल्लीमा
घुमिरहन्छ मेरो मन ।

मेरो आफ्नै पनि अनुभव छ
कयौ रातहरु नसुती बिताएको
जुलुसमा लाठी चार्ज खाएको
गाडीको टायर र मुढाहरु दन्किरहेको !

तर म फर्किन्छु तिम्रै काखमा आउछु
म अहिले छटपटाई रहेको छु !
निस्सासिई रहेको छु !!
कहालिई रहेको छु !!!

प्रतिकृया दिनुहोस