विचार/ब्लग

कुहिरोमा हराएको मेरो देश

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राजनितिक माहोल बडा गजबको छ ! राजनीतिक नेतृत्व एउटाले भन्छ सुर्य गुलेलीले झराइदिन्छु अर्कोले भन्छ रुख ढाली दिन्छु । अर्कोले भन्छ चुनाबमा जोसुकै जितोस मरे पनि कुर्सी छोडदिन । अर्कोले भन्छ १८ महिनामा सरकार ढलाइदिन्छु ! देशका नेता कि गाइजात्रे कलाकारहरु ? हत्केलाले सुर्य छेकिन्न ! गुलेलीले सुर्य झर्दा पनि झर्दैन, उचित मलजल पाएमा काटेको रुख पनि पलाउछ साइला दाइ । अब सबै मिलेर समृद्ध नेपालको कल्पना गर्दै बिकासका रुपरेखाहरु बनाउ ! श्रोत साधन हामी सङै छन, इन्जिनियर पनि हाम्रै देशमा छन ! आफुले नसक्ने काम बिदेशी कम्पनीलाई देउ । सक्ने काममा स्वदेशी लगानी लगाउ।मजदुर हामी छौ ! हामीलाई स्वदेशमा काम गर्ने मौका देउ ! आधा पेट खाएर भएपनि आफ्नो देश बनाउन हामी कम्मर कसेका छौ । सधैभरी देशमा गाइजात्रा पर्व नमनाउ ! ५ बर्ष सम्म एउटा दिगो सरकार बनाउ ! काम गर्ने मौका देउ ! कुर्सीको खेल बन्द गर ! ५ बर्ष पछि जनता स्वयं निर्णय गर्नेछन । सधैभरी युवा बिदेश धपाएर रेमिट्यान्स खाने दिवा सपना देख्ने काम नगर ! छिमेकीको गधाले जता जता फोहर गर्छ त्यतै आँ गर्दै नडुल । सधैभरी जनतालाई अन्योलमा राख्ने काम नगर ! नेपाल तिम्रो बाबाको एकलौटी अंश र तिम्रो म्याडमले माइतीबाट ल्याएको उपहार पनि होईन । कि काम गर कि युवालाई देशको जिम्मा लगाउ । ख्याल राख्नु गाइजात्रे कलाकारहरु ! आफ्नो पसिना र रगतले पैसा साटेर विदेशबाट रेमिट्यान्स पठाएका छौ ! राम्रो भुमिका निर्वाह गर्नु अन्यथा बाध्यता पारेमा के गर्नु पर्छ हामी पनि जानेका छौ ।

सुन्दर नेपाल निर्माणका लागी १७००० नागरिकले आफ्नो ज्यान दिइ सक्नु भएको छ । देशमा प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव सम्पन्न भैसकेको छ । अब देश संघीयतामा गैसके पछि हामी आफै आत्मनिर्भर हुने छौ, बाह्य शक्तिबाट नेपाल आमालाई बचाउन सक्षम हुनेछौ, ६० लाख युवाले बिदेशी भुमीमा होइन,अब आफ्नै भुमिमा मोती फलाउन सकने छौ ! शहिदको सपना साकार गर्नु छ, आउने सन्ततिलाई सुन्दर सभ्य र व्यवस्थित नेपाल जिम्मा लगाउनु छ ! प्रिय नेता ज्यु !! देशको जिम्मा हजुरको काधमा छ भनेर हामी आफ्नो जिम्मेवारी बाट बाहिरिनु खोजेको पनि होइन, हामी आफ्नो गाउँ आफै बनाउ जस्ता योजना अन्तर्गत थुप्रै काम गरेका छौ,बाहिर बाट रेमिट्यान्स भित्र्याएका छौ जुन रेमिट्यान्सले देशको अर्थतन्त्र बलियो बनाएको छ,महँगो कर तिरेका छौं ! हामीलाई अमेरिका र सिङापुर चाहिको छैन,नेपाली भएर बाच्न पाईयोस, सरकारी कार्यालयमा बिना घुस समयमा काम होस, भ्रष्टाचार उन्मुलन होस, कालो बजारी रोकियोस, हत्याहिंसा तथा बलात्कारमा सलग्न दोषीलाई उचित कार्वाही होस ! बस ! यी कुराहरुमा बिचार गरिदिनु होला !
देश अहिले कुहिरोमा हराएको काग जस्तै भएको छ । देश लाई छिटोभन्दा छिटो निकास दिनको लागी बाम एकतालाई पार्टी एकतामा रुपान्तरण गरेर अब बन्ने राष्ट्रिय सरकार ओलिको नेतृत्वमा बनाउने र जनयुद्दका महानायक प्रचण्ड लाई संघीय गणतन्त्र नेपालको रास्ट्रपति पदमा बहाली गर्दा राम्रो होला भन्ने हाम्रो बुझाइ हो ।
पूर्व प्रधानमन्त्रीद्वय प्रचण्ड र ओलिले थुप्रै सपनाहरु जनता समक्ष प्रस्तुत गरिसकेका छन । जनताले पनि बिस्वास गरेर आफ्नो अमुल्य मत दिएर भारी मतले बिजयी बनाएका छन । जनताको मत र अभिमतलाई कदर गर्नु दलहरुको दायित्व हुन्छ । देखाएका केही सपनाहरु नदीहरुबाट तुहिन हटाउने,पाइप लाइन बाट ग्यास,हावा बाट बिजुली,चुच्चो परेको रेल कुदाउने, प्रशान्त महासागरमा आफ्नै पानीजहाज चलाउने जस्ता सपनाहरु पूरा गर्छन कि गर्दैनन हामीले परिक्षा लिने मौका आएको छ ।जसले सपना देख्छ ! पूरा पनि गर्ला ! जसले सपना नै देख्दैन उसले के योजना ल्याउला?भन्ने सोच भएर नै यसपटक जनताले वामपन्थी पार्टीका उम्मेदवारहरुलाई बिजयी बनाएका छन,जनताको मतको आधारमा यसकारण पनि अब बन्ने सरकारको नेतृत्व ओलिले र देशको प्रमुख अभिभावकको भुमिका निर्बाह गर्दै प्रचण्डले देश विकासको रोल मोडेल तयार गर्नुपर्ने देखिन्छ ।

बालकुमार क्षेत्री
(काबुल) अफगानिस्तान

प्रतिकृया दिनुहोस