विचार/ब्लग

निष्ठा र राजनैतिक मुल्यका पर्याय कृष्णप्रसाद भट्टराई

तारक प्रतिभा
नेपाली राजनैतिक वृतमा सदैव सम्झनलायक नाम कृष्णप्रसाद भट्टराईको जन्म पिता संकटाप्रसाद र माता ललितादेवीका कान्छा छोराका रूपमा वि.सं. १९८१ पौष कृष्ण द्वादशीका दिन भारतको बनारसमा भएको हो ।
नेपालको पहिलो संसदका पहिलो सभामुख तथा बहुदलीय व्यवस्थाको पुनर्स्थापना पश्चातका पहिला प्रधानमन्त्री किसुनजी वि.सं. २००३ सालमा नेपाली काङ्ग्रेस गठन गर्दा देखि नै नेपालको राजनीतिमा संलग्न भएर राणा शासन अन्त्य र प्रजातन्त्र स्थापनामा महत्वपुर्ण भुमिका निर्वाह गरेका एक आर्दश राजनितिज्ञ अन्र्तगत पर्नुहुन्छ । उहा २००७ सालको सशस्त्र क्रान्तिमा जनकपुर―उदयपुर कब्जा गर्ने मुक्ति सेनाको कमाण्डरका रूपमा काम गर्दै वि.सं. २०१५ सालमा संसदको तल्लो सदन प्रतिनिधि सभाका सभामुख हुनुभएको थियो ।
उहा वि.सं. २०४६ को जनआन्दोलन पछि गठित अन्तरिम मन्त्रीपरिषदमा पहिलो पटक प्रधानमन्त्री बनेर नेपाल अधिराज्यको संविधान २०४७ निर्माण गरी लागू गराउने र बहुदलीय प्रतिस्पर्धाको आधारमा संसदीय निर्वाचन गराउने महत्त्वपूर्ण दायित्व सफलता पूर्वक बहन गरेपनी आफू प्रधानमन्त्री हुँदै गराएको २०४८ को आम निर्वाचनमा आफै काठमाडौँबाट पराजित हुनुभयो पछि २०५६ को आम निर्वाचनमा विजयी भएपछि पुनः प्रधानमन्त्री बनेपनी आन्तरिक किचलोका कारण लामो समय काम गर्न पाउनुभएन ।
गान्धीवादी सन्त नेता मानिने भट्टराई दृढ अठोट र संकल्पका धनी व्यक्तित्व भएको कुरा उहाले अंगालेको राजनैतिक निष्ठा मुल्य प्रतिको अठोट र वर्तमानमा पनी उहाप्रतिको आम जनमानसको श्रद्धाबाट प्रष्ट हुन्छ । स्पष्टवक्ता र सिद्धान्तनिष्ठ नेताका रूपमा परिचित किसुनजीको हरदम हँसिलो रहने सेन्स अफ ह्युमर उच्च रहेको पाईन्छ । गम्भीर समस्यालाई पनी सहज ढंगले समाधान गर्नसक्ने क्षमता उहामा रहेको थियो । पदमा बस्दा व्यक्तिगत लाभमा नमुछिएकाले उहालाई स्वच्छ छवि भएका नेताको रूपमा लिइन्छ।



भारतको बनारसमा माता पिता निर्वाशित भएकै अवस्थामा जन्मेका कृष्णप्रसादको शिक्षा पनि बनारसमा नै भएको हो भटराईले काशी हिन्दू विश्वविद्यालयबाट राजनीतिशास्त्रमा बि.ए. सम्मको अध्ययन पूरा गरी सोही विषयमा एम.ए. तहको अध्ययन पनि गरिसकेका भट्टराई भारतीय स्वतन्त्रता सँग्राममा सहभागी भएका कारण पक्राऊ परेकाले सो तहको परीक्षा दिनबाट बञ्चित भएकाकाले एम. ए. तहको अध्ययन पूरा हुन नसकेको देखिन्छ । भट्टराई युवावस्थामा पत्रकारिता समेत गरेका भटराई नेपाल पत्रकार महासंघको संस्थापक सभापति साथै सोभियत संघ को कम्युनिष्ट पार्टिको अन्तर्बार्ता लिने प्रथम विदेशी पत्रकार रहेको पाइन्छ ।

सन १९४२ को अङ्ग्रेज भारत छोडो स्वतन्त्रता आन्दोलनमा सक्रिय सहभागी भएर पहिलो पटक अङ्ग्रेज सरकारबाट पक्राउ परेका उहा सन् १९४५ मा बनारस हिन्दू युनिभर्सिटी स्थित नेपाल छात्र संघको उपाध्यक्षका रूपमा रहेर नेपाली विद्यार्थीहरू बीच राजनैतिक चेतना फैलाउने काममा सक्रिय रहका थिए । त्यसपश्चात नेपालको निरङ्कुशतन्त्र हटाउन आन्दोलन गर्नुपर्ने छलफल हुन थालेपछी बीपी कोइराला र अन्य केही तात्कालीन युवाहरूले पहिलेदेखि नै उक्त आन्दोलन हाँकेको पाईन्छ । नेपालको १०४ वर्ष लामो निरङ्कुश राणा शासन समाप्त पारेर संवैधानिक राजतन्त्रात्मक प्रजातन्त्र स्थापना गर्ने उद्देश्यले पहिलो पटक वि.सं. २००३ मा भारतको बनारसमा अखिल भारतीय नेपाली राष्ट्रिय काङ्ग्रेस नामक संस्था गठन भयो। देवीप्रसाद सापकोटाको सभापतित्वमा बनेको उक्त संस्थाका महामन्त्री रहेका भट्टराईले वि.सं. २००३ माघमा कलकत्तामा स्थापित नेपाली राष्ट्रिय कांग्रेसमा सँगठन मन्त्रीको पद सम्हाल्नुभएको थियो । नेपाली राष्ट्रिय काङ्ग्रेस र नेपाल प्रजातन्त्र काङ्ग्रेस मिलेर वि.सं. २००६ मा नेपाली काङ्ग्रेस गठनपछि सहमहामन्त्रीको जिम्मेवारी रहनुभएको थियो ।

२०१७ पौष १ गतेका दिन थापाथलीमा सम्पन्न हुँदै गरेको तरुण दलको सभास्थलबाट तात्कालीन प्रधानमन्त्री बीपी कोइरालासँगै तरुण दलको अधिवेशन स्थल त्रिपुरेश्वरबाट पक्राउ परेपछि भट्टराईले निरन्तर १० वर्षसम्म जेल बस्नुपरेको थियो । त्यसपछि पनि पटक(पटक जेल परेका भट्टराईले आफ्नो जीवनमा १४ वर्षभन्दा बढी समय जेलमै बिताएका थिए। एक दशक लामो जेल जीवनबाट मुक्त हुने वित्तिकै २०२७ वैशाख ६ गते नेपाल विद्यार्थी सङ्घ स्थापना समारोहको उद्घाटन गरेका भट्टराईले विद्यार्थी आन्दोलनलाई सक्रिय पार्न विशेष योगदान दिएको गर्विलो इतिहाँस हाम्रासामु जगजाहेर छ ।

२०३४ मा भएको पटना सम्मेलनबाट बीपी कोइरालाले स्वास्थ्यको कारण देखाई भट्टराईलाई नेपाली कांग्रेसको कार्यवाहक सभापति बनाएपछि बीपी कोइरालाको निधन पछि २०३९ मंसीरमा गणेशमान सिंह निवास क्षेत्रपाटीमा सम्पन्न सम्मेलनबाट पुनः कार्यवाहक सभापतित्वमा समर्थित भएपछि करिब डेढ दशक कार्यवाहक सभापति कै रूपमा रहेर नेपाली काङ्गेसको नेतृत्व सञ्चालन गर्दै आठौं महाधिवेशन २०४८ बाट सर्वसम्मतिबाट सभापतिमा निर्वा्चित गरेपछि उहाले २०५३ सम्म सभापतिको जिम्मेवारीमा रहेर नेपाली काँग्रेसको रथ हाँक्नुभएको थियो ।
सन्त नेता भटराईले नेपाली कांग्रेसको स्थापना कालदेखि नै बीपी कोइराला, सुवर्ण शम्शेर र गणेशमान सिंह तीनैजना नेताहरूसँग समान रूपले अत्यन्त जिम्मेवारीबोधका साथ अहिंसात्मक आन्दोलनबाटै प्रजातन्त्र स्थापना गर्न सकिन्छ भन्ने दृढ अठोट र सङ्कल्प बोकेर काम गर्नुभएको घटनाक्रमहरुले सिद्ध गरेका छन ।
कृष्णप्रसाद भट्टराई आजीवन अविवाहित रहे । सन्त प्रवृत्तिको भएकाले गर्दा केहीले किसुनजीलाई सन्त नेता भनेर पनि सम्वोधन गर्ने गरेका छन्। अत्यन्तै सादा जीवन भएका भट्टराई कहिलेकाँही छाता मात्र लिएर हिँड्दथे। २०४८को निर्वाचनमा पराजित भएपछि बालुवाटारस्थित प्रधानमन्त्री निवास छोडेर निस्कँदा हातमा छाता र कमण्डलु लिएर पैदलै निस्केको कुरा भटराईको ’मेरो म’ नामको आत्मबृत्तान्त पुस्तकमा उल्लेख गरिएको छ ।
नेपाली समाजको स्वाधिनता,समानता र सर्वागिंन विकाशका लागी आजीवन चिन्तन र प्रयत्नशिल,राजनैतिक निष्ठा र मुल्यका उहाहरणिय व्यक्तित्व कृष्ण प्रसाद भट्टराईको २०६७ फागुन २० गते शुक्रबारका दिन काठमाडौंको नर्भिक अन्तराष्ट्रिय अस्पतालमा मृत्यु भएको थियो । आर्दश राजनितिज्ञ सन्त नेता कृष्ण प्रसाद भटराईको ९४ औ जन्म जयन्तीको अवसरमा उहाप्रति श्रद्धा,सम्मान र चिरस्मरण । जयनेपाल
केन्द्रिय सदस्य
नेपाल विद्यार्थी संघ

प्रतिकृया दिनुहोस