सम्पादकीय

सरकार हस्तान्तरण गर


मुलुकमा तिनै तहका निर्वाचन सम्पन्न भएका छन् । स्थानिय तहको निर्वाचनले देशभरका स्थानीय तहमा गतिशिलता आइरहेका बेला त्यसपछि सम्पन्न भएका प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनले मुलुकमा नयां उर्जा थपेको छ । वामगठबन्धनले अत्याधिक रुपमा मतपरिणाम आफ्नो पक्षमा पारेको छ । अव मुलुक सरकार हस्तान्तरणको वहसमा पुगेको छ । सरकार हस्तान्तरणको विधि र समय कहिले हुने भन्ने सन्र्दभमा मुलुक अल्झिएको छ । राष्ट्रिय सभाको निर्वाचनपछि या पूर्व नै भन्ने विषयमा मतमतान्तर देखिन्छ । जसरी जहिले गरेपनि वर्तमान देउवा सरकारको विघटन र नयां सरकार गठनको विकल्प छैन । ढिलो या चाडो भन्ने विषय एउटा प्राविधिक विषयका रुपमा रहनेमात्र हो । चुनाव हार्दा या आफुले सम्हालेको जिम्मेवारीमातहतका संयन्त्रमा भयानक खालको भ्रषटाचार, दुर्घटना भयो भने नैतिकताका आधारमा राजीनामा दिने परम्परा हिजो पंचायतमा कताकति देखियो ।

पहिलो संविधानसभामा एमालेले शर्मनाक पराजय भोगेपछि तत्कालिन नेता माधव कुमार नेपालले नैतिकताका आधारमा राजिनामा दिए । तर अपवादवाहेकका यस्ता नैतिकताका आधारमा अव उक्त पद ओगटिरहन नमिल्ने भन्दै पदत्याग गरेका उदाहरण नेपालमा भने देखिदैन । राजनीतिमा नैतिकता पनि हुन्छ भन्ने कुराको खडेरी परिरहेका बेला आफुलाई सहि नै सावित गर्न विभिन्न आरोपप्रत्यारोप गर्ने र जसरी पनि आफ्ना कमजोरीलाई लुकाएर परिस्थितिलाई दोष लगाउने चलन नै चलिरहेको छ । यतिवेला पनि विेशषत नेपली कांग्रेसको पराजयलाई लिएर पार्टीभित्र नेतृत्वको विषयमा प्रश्न उठिरहेको छ भने चुनावमा बहुमतसहित आएका वामगठबन्धनका नेताहरु देउवालाई राजीनामा दिएर नयां सरकार गठनको मार्ग प्रशस्त गर्न भनिरहेका छन् ।

वर्तमान सरकार त्यो संसदको पूर्णतापछि मात्रै राजिनामा दिने मानसिकतामा देखिन्छ । यसले अस्थायी खालको भएपनि द्वन्द्व सिर्जना गरेको छ । जसले जनतामा सकारात्मक सन्देश प्रवाह गरेको देखिदैन । सत्तामा पुग्न जे पनि गर्ने र सत्ता छोडन नमान्ने प्रवृतिले राजनीति बदनाम छ, राजनीतिकर्मी बदनाम छन् । पाठ अव सिक्नैपर्छ, जनताकामाझमा विग्रेको छवि अव उन्नतप्रकारको राजनीतिक संस्कार देखाएर सुधार्नैपर्छ । संवैधानिक हिसावले अव मुलुकलाई सरकार हस्तान्तरणको प्रक्रियमा यथाशिघं्र लगेर संविधान कार्यान्वयनको दिशातर्फ अग्रसर गराउनुपर्छ ।

 

प्रतिकृया दिनुहोस