सम्पादकीय

हिंसा रोक

मुलुकमा चुनावी अभियान सघन रुपमा अगाडि बढदै गर्दा हिंसात्मक घटना बढिरहेका छन् । विशेषत उम्मेदवारलाई लक्षित गरेर त्यसता घटना घटाइएका छन् । उम्मेदवारको ज्यान लिने नियत राखी भएका त्यसता हिंसात्मक घटनाको जति निन्दा गरेपनि कम हुन्छ । यो कसले किन गरिरहेको छ , यसको खोजविन गरि यस्ता काममा संलग्नलाई कारवाही गर्नुपर्छ । निर्वाचन लोकतन्त्रको सवैभन्दा सुन्दर पक्ष हो । मत हाल्न पाउनु जनताको नैर्सगिक अधिकार हो । मुलुकमा एक दशकसम्म चलेको हिंसात्मक द्वन्द्वले १७ हजार भन्दा बढिको ज्यान लिइसकेको छ । हिजो रक्तपातपूर्ण त्यो कहालीलाग्दो हिंसाको नेतृत्व गर्नेहरु आज शान्तिपूर्ण रुपमा जनताको घरदैलोमा पुगेर जनअनुमोदन खोजिरहेका छन् । यसले मुलुकमा सकारात्मक सन्देश प्रवाह गरेको छ ।

यसैविचमा अझैपनि हिंसात्मक गतिविधीमार्फत सामाजिक एवं राजनीतिक रुपान्तरणको उद्देश्यसहित यस्ता गतिविधी भइरहेका छन् । जसलाई इतिहासले असफल गरिदिएको छ । उम्मेदवारलाई हमला गरेर क्रान्ति हुदैन । जनतालाई आतंकित बनाएर पनि त्यो प्राप्ति हुन सक्दैन । निसन्देह मुलुकमा समस्या नभएका होइनन । मुलुक वैदेशिक हस्तक्षेपको चक्रव्यूहमा परेकै हो । राजनीतिक नेतृत्वमा स्वाभिमानको खडेरी परेकै हो तर यसको समाधान हिंसाले दिदैन । यसले त झनै अन्तराष्ट्रिय शक्तिकेन्द्रको चलखेल झनै बढनेछ । मुलुकको स्थिति झनै तरल बन्नेछ । उनीहरु झनै सक्रिय बनेर देशलाई आफ्नो पकडमा राख्न तल्लिन हुनेछन् ।

तसर्थ पनि हिंसात्मक गतिविधी बन्द गरेर जनतालाई सुसूचित गरि , जागरुक गरि अग्रगमन, समृद्वि र स्वाभिमानको आन्दोलनमा शान्तिपूर्ण रुपमा पनि गराउन सकिन्छ । परिवर्तनका लागि अख्तियार गरिने हिंसात्मक कार्यदिशा जायज होइन । किनपनि भने जे जति परवर्तन नेपालमा भएका छन्,ति शान्तिपूर्ण आन्दोलनका मार्फत नै सम्भव भएका छन् ।

प्रतिकृया दिनुहोस